Redirecting...

पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु - nagariknews.nagariknetwork.com

पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु - nagariknews.nagariknetwork.com
Source: ngrk

सिराहा, उदयपुर र ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोकमार्ग सुचारु भएको छ। अविरल वर्षा सुरु भएसँगै ठाउँठाउँमा पहिरो गएर शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको लोकमार्ग सोमबार दिउँसोदेखि सुचारु भएको हो। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी–बेतिनी–घुर्मी हुँदै ओखलढुङ्गा जोडिएको लोकमार्ग कालोपत्रे भए पनि दुई दशकदेखि बिग्रे भत्केका कारण सामान्य वर्षामा पनि अवरुद्ध हुने गरेको छ। उदयपुर खण्डमा ४६ किलोमिटर र सिरहादेखि घुर्मीसम्म ७३ किलोमिटर दूरीको यो लोकमार्ग ०५८ सालमा तत्कालीन शाही नेपाली सेनाले निर्माण गरेको हो। उदयपुरको बिकट गाउँपालिका ताप्ली र कटारी नगरपालिकाका पहाडी भेगका ८ वटा वडावासीको बाक्लो आउजाउ हुने सो लोकमार्ग भएर तराई र माथिल्लो सगरमाथाका हिमाली जिल्लालाई पनि सोझो यातायातले जोडेको छ। उदयपुरको माथिल्लो भेगका उपभोक्ताका लागि कटारी बजारबाट उपभोग्य सामग्री ढुवानी गर्ने तथा गाउँघरमा उत्पादित कृषि उपज कटारी भएर तराई निर्यात गर्ने मुख्य सडक पनि सोही लोकमार्ग हो। तर, विगत दुई दशकदेखि भत्केर कालोपत्रेको चिन्ह हराइसकेको सडक स्तरोन्नतिका लागि धेरै पटक सरकारको मुख ताके पनि आवश्यक बजेट नपाएका कारण त्यत्तिकै रहेको छ। वर्षैपिच्छे बजेट छुट्याउने आश्वासन दिए पनि सरकारले कार्यान्वयन नगर्दा स्थानीयवासी रुष्ट छन्। सेनाले निर्माण सम्पन्न गरेर सडक विभागलाई सुम्पेको सो लोकमार्ग डिभिजन सडक कार्यालय लहान, सिराहाको रेखदेखमा थियो। सञ्चालनमा आएको १० वर्ष नबित्दै भत्कन थालेको सडक दीगो र भरपर्दो मर्मत र स्तरोन्नति हुन नसक्दा यात्रु र यातायात व्यवसायी दुवैलाई टाउको दुखाइ बन्दै आएको छ। पछिल्लो दुई वर्षदेखि सो लोकमार्गको रेखदेख गर्नका लागि उदयपुरको कटारी बजारमा कटारी–घुर्मी सडक योजना कार्यालयमातहत राखिएको छ। कटारीमा योजना कार्यालय खुलेपछि सडकको रेखदेख गर्न केही सहज भए पनि बजेट अभावमा सडक स्तरोन्नति गर्न नसक्दा यात्रु मारमा परेको सूचना अधिकारी सुबास तिवारीले बताए।