ओलीलाई चुनौती दिन विद्याले खोलिन् सम्पर्क कार्यालय, यसरी हुँदैछ तयारी [फोटो फिचर] - www.nepalclicks.com
काठमाडौँ- पूर्वराष्ट्रपतिबाट एमाले राजनीतिमा फर्कनका लागि विद्या भण्डारीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारी थालेकी छन्। थापागाउँमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय राख्ने तयारी गरिएको हो। उक्त घरमा अहिले मर्मतको काम भइरहेको छ। उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन्। घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ। केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ। विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी राजनीतिमा आउन लागेकी हुन्। उक्त घर मदन भण्डारी फाउन्डेसनको नाममा भाडामा लिइएको थियो। ठूलो कम्पाउन्डसहितको उक्त घर तीनतले छ। मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए। त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन्। अहिले एमालेको राजनीतिमा सक्रिय हुनका लागि उनले त्यही घर रोजेकी हुन्। थापागाउँस्थित यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता विदुर मैनालीको हो। दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेपछि भण्डारी अहिले बूढानीलकण्ठस्थित भंगालमा रहेको निवासबाटै सक्रिय भइरहेकी छन्। उनले गत असार १४ गत मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई राजनीतिमा आउन निषेध गरेको थियो। उनले २०८१ वैशाखमा नवीकरण गरेको संगठित सदस्यता पनि एमालेले अमान्य घोषित गरेको थियो। एमाले अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा रहनेहरूका लागि गरिएको दुई कार्यकालको व्यवस्था पनि हटाइसकेका छन्। यो अवस्थामा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै भण्डारीलाई आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी निर्णय गराइसकेका छन्।