Redirecting...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा - bishwokhabar.com

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा - bishwokhabar.com
Source: bsbk

काठमाडौं– अमेरिकाले नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने प्रयास स्वरूप नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको भनेर फक्स न्युजले जनाएको छ। फक्स न्यूजले प्राप्त गरेको विदेश मन्त्रालयको त्यसबारे मेमो अनुसार मन्त्रालयले जाँचबुझ र प्रमाणीकरण प्रक्रियाहरूको पुनरवलोकन गरिरहँदा कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुन बमोजिम भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ। नेपालसहित सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूसो सूचीमा परेका छन्। सो स्थगन जनवरी २१ (माघ ७) देखि लागु हुने हुनेछ र विदेश मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरवलोकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहनेछ। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो। छोटो समयका लागि दिइने विद्यार्थी, बिजनेस, भिजिट भिसा लगायतभन्दा यो अलग प्रकारको भिसा हो। यस अघि गत हप्ता नेपालीहरूले बिजनेस (बी१) र भिजिट (बी२) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने नियम अमेरिकाले ल्याएको थियो। अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ देखि यस्तो नियम लागू हुने जनाएको थियो। जसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन्। भिसा प्राप्त गर्ने व्यक्तिलाई भिसा अन्तर्वार्ता क्रममा दूतावासका अधिकारीले ५ हजार डलर (७ लाख २२ हजार रूपैयाँ), १० हजार डलर (१४ लाख ४४ हजार रूपैयाँ) वा १५ हजार डलर (२१ लाख ६६ हजार रूपैयाँ) मध्ये कुनै एउटा रकम धरौटी राख्न लगाउनेछन्। यस्तो रकम बुझाउँदा अमेरिकी अध्यागयन तथा भन्सार कार्यालय (आइसिई) को फाराम भरेर बुझाउनुपर्नेछ। रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नुपर्नेछ। अन्य तेस्रो पक्षको वेबसाइटबाट रकम तिर्न पाउने छैन। कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटिनेछ। साथै अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउनेछन्। साथै उनीहरुले तोकिएका विमानस्थलबाट मात्र देश छाड्नुपर्नेछ। अमेरिकाले प्रवेश गर्न र बाहिरिन तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको छ। बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वाशिङ्टनको डुलिस इन्टरनेसनल एयरपोर्टबाट मात्र अब यस्ता भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेश गर्न पाउनेछन्। अन्य विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्ने उल्लेख गरेको छ। अमेरिका प्रवेश गर्दा नै यस्ता भिसा प्राप्त गर्ने व्यक्तिको फर्कने दिन रेकर्ड गराउनुपर्नेछ। अमेरिका छाडेपछि भने धरौटी रकम फिर्ता हुनेछ। साथै कोही व्यक्तिले भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा पैसा फिर्ता पाउनेछ। त्यसैगरी अमेरिकाको भिसाका लागि निवेदन दिएको र एयरपोर्टबाट फर्काइएको अवस्थामा पनि पैसा फिर्ता पाउनेछन्। तर धरौटी तिर्दैमा भिसा प्राप्त गर्ने सुनिश्चतता भने हुने छैन। अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना कसैले धरौटी बुझाए त्यस्तो धरौटी फिर्ता हुने छैन। त्यस्तै बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ।