‘साहित्यपोस्ट आख्यान पुरस्कार’ संवाद : कथा हुन् कथा हैनन् - sahityapost.com
‘साहित्यपोस्ट आख्यान पुरस्कार – २०८१’ का लागि ५ आख्यान कृतिको छनौट भइसकेका छन् । यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘कथा हुन् कथा हैनन्’का स्रष्टा रमणसँगको संवाद प्रस्तुत गरिएको छ । … १. तपाईँको पुस्तक ‘कथा हुन् कथा हैनन्’ साहित्यपोस्ट आख्यान पुरस्कारको छोटो सूचीमा छनोट भयो, कस्तो महसुस गरिरहनुभएको छ ? एकदमै खुशी लागेको छ । अमेरिकादेखि अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपका विभिन्न मुलुकका शुभचिन्तक एवं पाठकहरूबाट शुभकामनाहरू आइरहेका छन् । मिहिनेत एक हदसम्म फलिफाप भएको महसुस भएको छ । २. तपाईँको ‘अन्तिम क्रान्ति’ कथा अनुसार देशमा अब क्रान्ति हुँदैन । क्रान्ति पनि अन्तिम हुन्छ र ? १० वर्षे जनयुद्ध नै हाम्रो देशको अन्तिम क्रान्ति हुन सम्भव छ ? त्यसोभन्दा पनि हाम्रो पुस्तालाई “अन्तिम क्रान्ति” भनेर भनिएको क्रान्ति चित्रण गर्न खोजिएको हो । अन्तिम भनिएको क्रान्ति लगत्तै मधेश आन्दोलन भयो । त्यो हिसाबले क्रान्ति अन्तिम हुने त कुरा भएन । हरेक युगका सीमान्तकृतहरूले आफ्नो न्यायको लागि क्रान्ति त चीरकालसम्मै गरिरहलान् । यसो चाहिँ हुनसक्छ कि हरेक क्रान्तिकारीले उसको क्रान्तिलाई अन्तिम भनेर भन्ने छ, र बृहत् जनसमर्थनका लागि आह्वान गर्नेछ । ३. लेखकहरू इतिहास र वर्तमान मात्र लेखेर बसे जस्तो लाग्दैन तपाईँलाई ? साहित्यबाट भविष्यको मार्ग लेख्न किन सकिरहेको छैन नेपाली साहित्यले ? स्मृति सबैलाई प्यारो हुन्छ । त्यो नलेखिरहन सकिन्न । वर्तमान साहित्यमा भन्दा समाचारमा बढी लेखिन्छ । भविष्यको सवालमा साहित्यमा नलेखिने हैन तर रूप फरक हुन सक्छ । जस्तो सरुभक्तले यन्त्रमानवका प्रेमकथा लेख्नुहुन्थ्यो । त्यो भविष्यकै कथा हो। कतिपय कथा कालजयी हुन्छन् । जस्तो गुरुप्रसाद मैनालीका कथाहरू छन् । ती सधैँ सान्दर्भिक लाग्छन् । मेरो कथाहरूमा पनि बाबु पात्रदेखि लिएर पति पात्रका कथाहरू मेरो व्यक्तिगत इतिहास भन्दा पनि भविष्यप्रतिको कल्पनाकै कथा हो । टीका कथामा जुन संयोग परिकल्पना गरेर लेखेको थिएँ त्यो ठ्याक्कै सन् २०२२ मा घर पुग्दा मिलेको थियो । जबकि २०१७ मै सङ्ग्रह लेखेर सकिसकेको थिएँ । त्यसैले भविष्य नलेखिने या नलेखेको हैन, त्यो फरक रूपमा हुनसक्छ । ४. जर्मनी बस्नु हुन्छ, तर कथामा नेपालकै विगत र आगतहरूलाई कोट्याउनुभएको छ । आखिर, देश भन्नु के रहेछ ? आफूभित्रको देश कतिबेला चाहिँ सबैभन्दा बढी दुख्दो रहेछ ? कथा लेखिसक्दा जर्मनीको बसाइको ५ वर्ष पूरा भएको थियो भने नेपालको बसाइका २५ वर्षहरू मसँग थिए । त्यसैले नेपाल हावी हुनु स्वाभाविकै हो । प्रायः कथा त नेपाल हुँदै लेखेका कथाहरू थिए । यता आएर थपिएका कथाहरू पनि छन् । जस्तोः ४ युरो ५० सेन्ट, छाता, आधा सगरमाथा, गुलाफको कथा आदि यताका कथा हुन् । नेपालीमा नेपाली पाठकका लागि लेखिने कथा नेपाली परिवेशमा लेख्दा आत्मसात गर्न सहज होला भनेर कतिपय अवस्थामा परिवेश फेरिएका हुन् । नत्र यताका कुरा पनि मनग्गे छन् । देश एउटा राजनीतिक व्यवस्थाभन्दा बढी केही होइन । जुन राजनीतिक व्यवस्थाले मान्छेलाई अवसर दिन्छ मान्छे त्यही व्यवस्थामा जान्छ । आफूलाई मन पर्ने र आफूले एक हदसम्म पारंगत हासिल गरेको खेलमा मान्छेले समय बिताएको जस्तै न हो । देश दुख्ने त्यति बेला हो जब जन्मेको देश अनि कर्म गर्न आएको देश दुबैले आप्रवासी देख्छ । त्यस्तो बेला तसलिमा नसरीनको परिक्रमा याद आउँछ । नसरीनले भोगेको भोगाइ मैले भोग्न पर्दैन भन्ने लागेको थियो । तर कसरी कसरी त्यही भोगाइ भोग्ने मेसो मिल्दै गयो । ५. पुरस्कारको छोटो सूचीमा तपाईंको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईंले साहित्यपोस्ट आख्यान पुरस्कार पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ? अरु स्रष्टा र उहाँहरूका सिर्जनाहरू पनि म जस्तै दाबेदार नै हुन् । त्यसैले कसले पाउने भन्ने निर्णायकको तजबिजको कुरा भयो । निकै समय लगाएर अनि विषयवस्तु र राजनीतिक कुराहरूमा पनि विशेष ध्यान दिएर ल्याएको कृति मलाई चाहिँ उत्कृष्ट लागेरै प्रकाशित गरिएको हो । त्यसैले पनि पुस्तक बलियो दाबेदार हो । र, यसले पुरस्कार पायो भने आफ्नो मिहिनेतले न्याय पाएको सम्झने छु । त्यसले आगामी साहित्यिक यात्राका लागि उत्साह थप्ने छ । पुरस्कारको रकम आगामी पुस्तक प्रकाशनमा लगाउने छु । ६. अन्त्यमा तपाईँका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न । लेख्न मन छ । धेरै कुरा लेख्न मन छ । मेसो नमिलेर हो नत्र संसारभरिका सबै पानाहरू लेखेरै सकिदिने हुटहुटी छ । हेरौँ, समयले कति साथ दिन्छ । एउटा नियात्रा अन्तिम अवस्थामा छ । थप योजना अलि काँचै छन् । The post ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ संवाद : कथा हुन् कथा हैनन् appeared first on साहित्यपोस्ट.