इलाममा बाढी–पहिरोको कहरः ज्यान गुमाउनको सङ्ख्या ३७ पुग्यो, दर्जनौँ घाइते - janatatimes.com
इलाम, असोज १८ ।अविरल वर्षासँगै इलामका विभिन्न स्थानहरूमा गएको भीषण पहिरो र बाढीका घटनामा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार विभिन्न गाउँ–नगरपालिकामा घरहरू पुरिँदा धेरै परिवार पूरै विस्थापित भएका छन् भने केही घाइते र हराइरहेका छन्। घोष गाउँमा एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोले २३ वर्षीय समीर देउजाली, २३ वर्षीय प्रवीण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीय अनु तामाङ र ८ वर्षीय प्रिन्सिखा मगरको ज्यान लिएको इलाम प्रहरीले जनाएको छ। सन्दकपुरमा ८ जनाको मृत्यु सन्दकपुर गाउँपालिका–१ छाँगेमा छवि धन राईको घरमा पहिरो जाँदा भीम बहादुर राई (४३), हरिमाया राई (६६), देवी राई (४७), शेखर राई (५४), सारादा सेडाई (७४) र तारा देवी राई (४८) लगायत ६ जनाको मृत्यु भएको हो। माईजोगमाई गाउँपालिकामा ५ जनाको परिवार पुरियो माईजोगमाई गाउँपालिका–३ प्याङमा ८२ वर्षीय बर्मलाल सोङमीको घरमा गएको पहिरोले पुरिएर बर्मलाल सोङमी (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र प्रकृति सोङमी (१४) को मृत्यु भएको छ। मानेभञ्याङमा एकै परिवारका ५ को ज्यान गयो सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा गएको पहिरोमा मनमाया क्षेत्री (६५), रश्मिका क्षेत्री (१०), दीप बस्नेत (४५), भवानी बस्नेत (४४) र दिव्या बस्नेत (१२)को ज्यान गएको छ। उनीहरू दोलखा घर भएका हुन्। देउमाईमा दुई ठाउँमा ठुलो क्षति देउमाई नगरपालिका–५ ढुसेनीमा ३० वर्षीय दीपक लिम्बुको घरमा गएको पहिरोले दीपकसहित उनकी श्रीमती ऋषिका लिम्बु (२७), छोरी दिपिस्का (१०), भतिजो सौजन (९) र सौगात लिम्बु (११)को मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसै नगरपालिका–५ झारेमा रोशन लिम्बु (२२) र उनकी श्रीमती बेबिसा राई (२२)को पनि पहिरोमा पुरिएर मृत्यु भएको हो। देउमाई–३ लक्ष्मीबोटेमा कृष्ण मगर (२८) को पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। माङसेबुङमा ३ जनाको मृत्यु माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा मदन लिम्बुको घरमा गएको पहिरोमा उनकी आमा कृष्ण माया लिम्बु (५७), फुपु माया लिम्बु (५०) र पाँचथर मिक्लाजुङ–६ की नेहा राई (१७) को ज्यान गएको छ। प्रहरीले सो क्षेत्रबाट ५ जनाको सकुशल उद्धार गरेको छ। अन्य स्थानमा पनि जनधनको क्षति फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा सुरेश लिम्बु (२८) गाईगोठ हेर्न गएको बेला पहिरोमा पुरिएर मृत्यु भएको छ।त्यस्तै माईजोगमाई–६ ओडारेमा भक्त बहादुर थेबेको घरमा गएको पहिरोले किरण थेबे (२८), मनमाया थेबे (१८) र मुनुसा थेबे (३) को पनि मृत्यु भएको छ । उद्धार र राहत कार्य जारी इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो र बाढी प्रभावित सबै क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा परिचालन गरेर उद्धार तथा खोजी कार्य जारी राखिएको छ। थप हराइरहेका व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुखले बताएका छन्। क्षति अझ बढ्ने अनुमान अविरल वर्षाका कारण अझै थुप्रै स्थानमा पहिरो जाने जोखिम रहेकाे छ। स्थानीय प्रशासनले पहिरो सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।