बुद्धदेवप्रसाद घिमिरेका दुई सामाजिक उपन्यास ‘माटोको माया’ र ‘गोफ्ले गोठालो’ लोकार्पण - sahityapost.com
काठमाडौँ । उपन्यासकार बुद्धदेवप्रसाद घिमिरेद्वारा लिखित ‘माटोको माया’ र ‘गोफ्ले गोठालो’ शीर्षकका दुई सामाजिक उपन्यास मङ्सिर २७ गते एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। उपन्यास समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रम उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा भएको थियो। कार्यक्रमका प्रमुख अतिथि साहित्यकारद्वय रोचक घिमिरे र प्रा.डा. दयाराम श्रेष्ठ रहनुभएकाे थियाे । अन्य अतिथिहरूमा प्रा.डा. गोविन्दमानसिंह कार्की, डा. तुलसी भट्टराई तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ सहभागी हुनुहुन्थ्याे । मञ्चासीन अतिथिहरूले दुबै कृतिहरू सामूहिक रूपमा लोकार्पण गर्नुभएकाे हाे । ८३ वर्षीय भोजपुर निवासी लेखक घिमिरेको यसअघि ‘धरतीको क्रन्दन’ गद्य कवितासङ्ग्रह प्रकाशित भइसकेको छ भने झण्डै एक दर्जन कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन्। प्रमुख अतिथि रोचक घिमिरेले उपन्यासकार घिमिरेको लेखन सशक्त रहेको उल्लेख गर्दै ‘गोफ्ले गोठालो’ उपन्यासका पात्र र ग्रामीण जीवनसँग जोडिएका स्मृतिहरू साझा गर्नुभयाे । यस उमेरमा पनि निरन्तर लेखन सक्रियताका लागि उहाँले लेखकलाई बधाई दिनुभयाे । कार्यक्रममा ‘माटोको माया’ उपन्यासमाथि प्रा.डा. दयाराम श्रेष्ठ र ‘गोफ्ले गोठालो’ उपन्यासमाथि प्रा.डा. गोविन्दमानसिंह कार्कीले समालोचनात्मक टिप्पणी प्रस्तुत गर्नुभयाे । डा. श्रेष्ठले ‘माटोको माया’लाई सामाजिक उपन्यास मात्र नभई धनकुटा र आसपासको जनइतिहास भएको कृति भएको बताउनुभयाे । यथार्थ र कल्पनाको सन्तुलित संयोजनमार्फत किसानको संघर्ष र सामाजिक रूपान्तरणको कथा प्रस्तुत गरिएको उहाँको भनाइ थियो। समालोचक कार्कीले ‘गोफ्ले गोठालो’लाई ग्रामीण परिवेश, गरिब र निमुखाको कथा बोकेको, अन्तरजातीय सम्बन्ध र मानवीय संवेदनालाई उजागर गर्ने पठनीय उपन्यासका रूपमा मूल्याङ्कन गर्नुभयाे । द्वन्द्वभन्दा भावनात्मक गहिराइ र मनोविश्लेषणात्मक पक्ष सबल रहेको उहाँको टिप्पणी थियो। आफ्नो धारणा राख्दै उपन्यासकार घिमिरेले नेपाली साहित्य यात्रामा प्रेरणा दिने व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयाे । विदेशमा लेखनका क्रममा पाएको सम्मान र आफ्नै देशमा लेखक–कलाकारले भोग्नुपर्ने उपेक्षाबारे अनुभव सुनाउँदै उहाँले लेखनप्रतिको समर्पण निरन्तर रहने बताउनुभयाे । कार्यक्रमका सभापति शङ्कर भारतीले ८० वर्ष नाघेका स्रष्टाका कृति लोकार्पण गर्न पाएको अवसरलाई ऐतिहासिक बताउँदै लेखकको दीर्घायु र थप सिर्जनाको कामना गर्नुभयाे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । रामशाहपथस्थित ग्रिनलिफ रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको सञ्चालन उपन्यासकार चेतनपथ माधवले गर्नुभएकाे थियाे । The post बुद्धदेवप्रसाद घिमिरेका दुई सामाजिक उपन्यास ‘माटोको माया’ र ‘गोफ्ले गोठालो’ लोकार्पण appeared first on साहित्यपोस्ट.