Redirecting...

एमाले पार्टी कमिटी संरचना पुरानै ‘मोडेल’मा - ehimalayatimes.com

एमाले पार्टी कमिटी संरचना पुरानै ‘मोडेल’मा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । एमालेले तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनमा लिएका निर्णयहरूलाई उल्टाउँदै पदाधिकारी संख्या बढाउने निर्णय गरेको छ । पार्टी नेतृत्वले विधान महाधिवेशनको निर्णय परिवर्तन गर्नुको स्पष्ट कारण खुलाएको छैन । तर, नेता व्यवस्थापनको समस्यालाई कारण मानिएको छ । एमालेले विधि-विधानमाथि छलफल गर्न र आवश्यक संशोधन गर्न भन्दै गत भदौमा विधान महाधिवेशन आयोजना गरेको थियो । तर, गत भदौमा सम्पन्न पार्टी विधान महाधिवेशनले गरेको निर्णयलाई एमालेले महाधिवेशन उद्घाटन भइसकेपछि बसेको केन्द्रीय समितिको बैठकबाट उल्टाएको छ । पार्टीको महाधिवेशन बन्द सत्र स्थल भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकको निर्णयसँगै विधान महाधिवेशनको औचित्यमै प्रश्न खडा गरेको छ । बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको पदाधिकारी संख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको हो । अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको छ । प्रस्ताव महाधिवेशनको बन्द सत्रबाट अनुमोदन भएपछि कार्यान्वयनमा जानेछ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो । अहिले पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी संख्या बढाएर पुनः १९ पु¥याउनुभएको छ । नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ । अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष पाँच, सचिव नौ, महासचिव एक, उपमहासचिव तीन हुनेछ । विधान महाधिवशेनले पारित गरेको विधानलाई राष्ट्रिय महाधिवेशनले संशोधन गर्नसक्ने प्रावधान छ । हट्यो वरिष्ठ उपाध्यक्ष पद, सचिव बढेएमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभएको हो । गौतमका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन, सचिव नौ, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ । उहाँले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसात गर्दै अगाडि जाने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि एमालेमा अहिले अध्यक्षका प्रत्यासी रहनुभएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष । त्यस्तै, उपाध्यक्षको संख्या ६ बाट घटाएर पाँच बनाइएको छ । सात जना सचिवमा भने दुई थपेर नौ पुर्‍याइएको छ । पदाधिकारी संख्या बढाउने निर्णयप्रति ईश्वर पोखरेलको आपत्तिएमालेका अध्यक्षका उम्मेदवारसमेत रहनुभएका ईश्वर पोखरेलले पार्टी विधानमा भएको संशोधनप्रति आपत्ति जनाउनुभएको छ । अहिलेको परिस्थितिमा पदाधिकारी संख्या बढाउनु समस्या समाधान नभएको तर्क गर्नुभएका पोखरेलले भृकुटीमण्डपमा आइतबार भएको केन्द्रीय कमिटी बैठकमा भन्नुभयो, ‘पार्टीले लिएको परिस्थितिले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबर्जस्त सन्देश दिएको छ, के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जाँचिएन ?’ पार्टीभित्र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने भन्नेबारे आवाज उठे पनि छलफल नभएको प्रति आपत्ति जनाउँदै पोखरेलले भन्नुभयो, ‘के हाम्रा विधानहरू अस्थायी हुन् । जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔँ भन्ने तपाईंहरू नै होइन ? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ । दाँयाबाँया नगरौँ ।’ शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विरोध गरेपछि विधान संशोधनको प्रस्ताव फिर्ता लिन बाध्य हुनुभएका ओलीले आइतबार बिहान बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक राखेर त्यो प्रस्ताव बहुमतबाट अनुमोदन गराउनुभएको हो । नेता शेरबहादुर तामाङले पदाधिकारी बढाउने निर्णयलाई विधान महाधिवेशनको निर्णयलाई उल्टाएको अर्थमा बुझ्न नहुने दाबी गर्नुभयो । अध्यक्ष ओलीलाई हुनेछ फाइदापदाधिकारी संख्या बढाउने निर्णयले अध्यक्षमा जित सुनिश्चित गर्ने प्रयास गरिरहनु भएका केपी शर्मा ओलीलाई निकै फाइदा भएको छ । अध्यक्षमा सर्वसम्मति नहुने मात्र होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी नै घोषणा गरेको सन्दर्भमा यो निर्णयको दूरगामी असर रहने एमालेका नेताहरूको तर्क छ । तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा ओलीलाई नेता व्यवस्थापन गर्न सजिलो हुनेछ । पदाधिकारी संख्या १९ बनाउँदा अब ओलीले आफ्नो पक्षका नेताहरूलाई पद दिएर सजिलै सन्तुष्ट पार्नसक्ने हुनुभएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन पाएको ईश्वर पोखरेल समूहका असन्तुष्टलाई कमजोर बनाउने रणनीतिमा ओली बलियो बन्नुभएको छ । सुरेन्द्र पाण्डे, योगेश भट्टराई तथा गोकर्ण विष्ट जस्ता प्रभावशाली नेताहरूको प्रभाव कम गर्न र आफ्नो प्यानलका राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेतलाई समेटेर शक्ति सन्तुलन मिलाउन अब ओलीलाई सहज भएको छ । आइतबार बिहानको विधान संशोधनको निर्णयको अर्को परिणाम भनेको आफू बफादार नेताहरूलाई ‘न्याय’ र पुनरावृत्ति गर्ने अवसर पनि हो । आफ्नो पक्षमा मरिमेटेर लागेका र गुटगत गतिविधिमा तटस्थ रहेकालाई पनि पदाधिकारीमा व्यवस्थापन गर्न अब ओलीलाई सहज भएको छ । योबाहेक पार्टीको क्लस्टर र महिलाको व्यवस्थापनमा सजिलो हुनेछ । यस्तो हुनेछ एमालेको केन्द्रीय नेतृत्व-अध्यक्ष : एक-उपाध्यक्ष : पाँच-महासचिव : एक-उपमहासचिव : तीन-सचिव : नौ-सदस्यीय स्थायी कमिटी सदस्य-३३-पोलिट्ब्युरो सदस्य-९९-केन्द्रीय कमिटी-३०१ सदस्यीय अष्टलक्ष्मीसहित चार नेताले गरे सक्रिय राजनीतिबाट अवकाशको घोषणानेकपा एमालेका बहालवाला दुई उपाध्यक्षसहित चार जनाले सक्रिय राजनीतिबाट अवकाशको घोषणा गरेका छन् । ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीति नगर्ने घोषणा गर्नुभएको हो । १०औँ महाधिवेशनबाट उपाध्यक्ष बन्नुभएका ज्ञवाली र शाक्यले ७० वर्षे उमेरहद लागू गर्नुपर्ने र दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने पक्षमा बोल्नुभएको थियो । उहाँहरू दुवैजना ईश्वर पोखरेल समूहमा खुल्नुभएको थियो । यस्तै, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्युरो सदस्य चूडामणि जंगलीले महाधिवेशनमा कुनै पदमा नउठ्ने घोषणा गर्नुभएको छ । पार्टीमा मनपरीतन्त्र विरुद्धको लडाइँ जारी छ : उपाध्यक्ष पाण्डेनेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरुद्ध लडाइँ जारी रहेको बताउनुभएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेपछि प्रतिक्रिया दिँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘के हाम्रा विधानहरू अस्थायी हुन् ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने ? यो सरासर मनपरी होइन भने के हो ? यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य छ ।’ कुनै मतान्तर भएन : नेता बास्कोटाएमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पुरानै विधान कायम गरेर ११औँ महाधिवेशनमा जाने प्रस्तावमा छलफल हुँदा विभिन्न कुरा उठे पनि मतान्तर नभएको जिकिर गर्नुभएको छ । पदाधिकारी संख्या बढाउने केन्द्रीय समितिको निर्णय सहमतिबाटै भएको दाबी गर्दै बास्कोटाले भन्नुभयो, ‘यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकाले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो । विभिन्न कुरा उठे तर मत-मतान्तर भने भएन । एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बीचको एकता नै एमाले हो ।’ सर्वसम्मत नेतृत्व छान्न ओलीको आह्वानअध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउँदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गर्नुभएको छ । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आइतबार दिउँसोबाट सुरु भएको बन्दसत्रमा सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले सर्वसम्मतिका लागि अपिल गर्नुभएको जानकारी दिँदै सचिव पद्मा अर्यालले भन्नुभयो, ‘अध्यक्ष कमरेडले पार्टीलाई एकताबद्ध गरेर लैजान आह्वान गर्नुभएको छ । सर्वसम्मत नेतृत्व छानेर जाऊँ, पार्टी एकताबद्ध हुन्छ भन्ने उहाँको कुरा छ ।’ अर्यालले बन्दसत्र सञ्चालनका लागि विगतमा अध्यक्ष मण्डल बनाउने गरिएकोमा यसपटक त्यो व्यवस्था हटेको जानकारी दिनुभयो । अध्यक्ष ओलीले सिधै सम्बोधन गरेर बन्दसत्रलाई अगाडि बढाउनुभएको थियो । बन्दसत्रमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्रपार्टीको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राख्नुभएको छ । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो । पोखरेलले बन्द सत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको अवधारणा पत्र वाचन गर्नुभएको हो । पोखरेलले देश र पार्टी भूराजनीतिक बोझले किचिएको बताउनुभएको छ । पोखरेलले केपी शर्मा ओलीलाई पार्टी जीवनको लोकतान्त्रीकरणको आफ्नै विगतको प्रस्ताव र प्रयाससमेत स्मरण गराउनुभएको छ । उहाँले अहिले पार्टीमा विचार र नेतृत्वको भन्दा पनि कार्यशैलीको समस्या रहेको भन्दै यही स्थिति रहेमा कुनै पनि दिन दुर्घटनाग्रस्त बन्ने पीर सबैमा रहेको टिप्पणी गर्नुभयो । उम्मेदवारी दर्ता आज बिहान ११ बजेपछिनेकपा एमालेको आगामी पाँच वर्षको लागि नेतृत्व चयन आज हुँदै छ । एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ । एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।