एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न जित्नै पर्ने दबाब - www.pardafas.com
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ । आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ । यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।