हिमालय मा.वि.मा कृष्णप्रसाद तामाङको ‘जीवन यात्रा’ कृति विमोचन - sahityapost.com
खाँदबारी । सङ्खुवासभा खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयको सभाहलमा पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा पूर्वप्रधानाध्यापक समेत रहनुभएकाे कृष्णप्रसाद तामाङ द्वारा लिखित पुस्तक ‘जीवन यात्रा’ विमोचन गरिएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक तथा साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएकाे थियाे । प्रमुख अतिथि वि. व्य. स अध्यक्ष शेरबहादुर पराजुलीसहित पूर्व वी.व्य.स. अध्यक्ष विश्वकुमार बज्राचार्य, पूर्व जिल्ला शिक्षा अधिकृत केशव भट्टराई, साहित्यकार रामप्रसाद लम्साल, दुर्गाबहादुर बिष्ट, कवि विनोद गुरुङ, कवि पार्वती दाहाल, शिक्षक सुभद्रा बज्राचार्य, तेजनाथ पोख्रेललगायतका स्रष्टा तथा पूर्वविद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। ब्यानर वाचनपछि प्रमुख अतिथिद्वारा औपचारिक उद्घाटन गरिएकाे कार्यक्रममा गीतकार भरत कुलुङले स्वागत मन्तव्य राख्दै पुस्तकभित्रका रोचक प्रसङ्ग तथा कृतिकारको जीवनयात्राका आयामहरू उल्लेख गर्नुभएकाे थियाे । कृति पठनीय र विषयगत रूपमा पूर्ण रहेको उहाँले टिप्पणी गर्नुभयाे । कार्यक्रममा कवि फणीन्द्र खनालले ‘जीवन यात्रा’ को समालोचना प्रस्तुत गर्दै कृतिले मौलिक रस, प्रतीक र जीवन–अनुभवको गहिरो पाटो उजिल्याएको बताउनुभयाे। उहाँले कृतिलाई समयबिम्बका रूपमा हेर्न सकिने उल्लेख गर्नुभयाे । साहित्यकार खगेश्वर घिमिरेले पाश्चात्य सिद्धान्त र उत्तरआधुनिक दृष्टिकोणबाट कृतिको संरचना विश्लेषण गर्दै यसमा संस्मरणात्मक आख्यान र नोष्टाल्जियाका सूक्ष्म रेखाहरू रहेको टिप्पणी गर्नुभयाे । कृतिकार तामाङले जीवनका बिभिन्न उतार–चढावले जन्म दिएको शब्द–यात्रालाई पुस्तकका रूपमा प्रस्तुत गर्न पाउँदा कृतार्थ बुभाएको बताउनुभयाे । सम्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानाध्यापक बुढाथोकीप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयाे । समारोहका प्रमुख अतिथि शेरबहादुर पराजुलीले विद्यालयमै बसेर लेखकको कृति विमोचन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयाे । कृतिले आकर्षण पैदा गर्ने शैली रहेको भन्दै उहाँले लेखकलाई निरन्तर सृजनात्मक यात्राकालागि शुभकामना दिनुभयाे । सभापतिको आसनबाट बोल्दै साहित्यकार ताराबहादुर बुढाथोकीले कृतिकारको दीर्घ अनुभवले जन्माएको ‘जीवन यात्रा’ जस्तो सृजनाले विद्यालय मात्र होइन, स्थानीय साहित्यिक क्षेत्र समेत समृद्ध भएको धारणा राख्नुभयाे । सोही दिन बिहान ११ बजेबाट विद्यालयले सामाजिक परीक्षण सार्वजनिक गर्दै कार्यक्रम प्रारम्भ गरेको थियो। विद्यार्थीहरूले आयोजना गरेको वक्तृत्व प्रतियोगिता सम्पन्न भएपछि मुख्य साहित्यिक सत्र सञ्चालन गरिएको थियो। एक हजार तीन सय ८२ विद्यार्थी अध्ययनरत हिमालय मा.वि. जिल्ला स्तरमै उत्कृष्ट विद्यालयका रूपमा पहिचित रहिआएको छ। कार्यक्रमपछि कृतिकार तामाङले हिमालय मा.वि. पुस्तकालयका लागि रु. ५८ हजार ८ सय ३० मूल्य बराबरका पुस्तकहरू नि:शुल्क हस्तान्तरण गर्नुभयाे । The post हिमालय मा.वि.मा कृष्णप्रसाद तामाङको ‘जीवन यात्रा’ कृति विमोचन appeared first on साहित्यपोस्ट.