Redirecting...

‘नाइमा मोबिलिटी एक्स्पो’ : गाडी होइन, ठगीको प्रदर्शन - www.palikalive.com

‘नाइमा मोबिलिटी एक्स्पो’ : गाडी होइन, ठगीको प्रदर्शन - www.palikalive.com
Source: plkl

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ दोस्रो दिनमा पनि अपेक्षित सफलता हासिल गर्न असफल भएको देखिएको छ। करोडौँको लगानी, चम्किला गाडी र मोडलहरूको तामझामबीच सुरु भएको मेलाले पहिलो दिनमै खास उत्साह नजगाएको भए पनि दोस्रो दिनमा झन् निराशाजनक अवस्था देखिएको हो। एक्स्पो स्थलमा दर्शकको उपस्थिति अत्यन्त न्यून रहँदा, सहभागी कम्पनीका प्रतिनिधिहरू स्टलमै समय बिताइरहेका देखिन्थे। थोरै आएका आगन्तुकको ध्यान तान्न केही स्टलहरूले नृत्य कार्यक्रमसमेत प्रस्तुत गरेका थिए, जसले अटो शोको उद्देश्य र स्तरमाथि प्रश्न उठाएको छ। मेलामा प्रदर्शित धेरै गाडीहरू गुणस्तरहीन रहेको, पुराना गाडीलाई रंगरोगन गरी नयाँको रूपमा प्रस्तुत गरिएको तथा ‘बिग सेल’, ‘एक्सचेन्ज अफर’ र ‘वेस्ट स्पोट एक्सचेन्ज’ जस्ता प्रलोभन मात्र दिइएको उपभोक्ताहरूको आरोप छ। थुप्रै ग्राहकले नयाँको नाममा पुरानो गाडी पाएको गुनासो गर्दै ‘बाहिरबाट चम्किलो तर भित्रबाट बिग्रेको’ भन्दै आलोचना गरेका छन्। स्रोतका अनुसार, प्रदर्शित धेरै गाडी भन्सार छुट वा भन्सार छलेर ल्याइएका हुन सक्ने आशंका छ। उपभोक्ता अधिकारका अभियन्ताहरूका अनुसार वास्तविक लागत १० लाख रुपैयाँभन्दा कम पर्ने गाडीलाई ‘लक्जरी’ को नाममा एक करोडभन्दा बढी मूल्यमा बिक्री गर्ने प्रचलन चलिआएको छ। मेलामा बाह्य सजावट, चम्किला बत्ती र मोडलहरूको देखावट भए पनि भित्रको सामग्री कमजोर रहेको टिप्पणी छ। मोडल प्रदर्शनलाई दर्शक तान्नेभन्दा बढी आलोचना निम्त्याउने कारणका रूपमा हेरिएको छ। ‘धेरै ब्राण्डले सहभागिता नजनाउदा हामीले थोरै पैसामा पनि धेरै स्पेश पाएका छौँ, यसमा खुसी नै हुनुपर्छ’ प्रदर्शनीमा स्टक राखेका एक व्यवसायी भन्छन्, ‘बाँकी रौनक त खासै छैन, अब हेरौँ आगामी शनिबार भने राम्रै होला कि ।’ भयंकर राम्रो व्यवस्थापन भनेर प्रचार हुनुलाई चाहिँ आफै उनी गलत भएको बताउछन् । यसबाहेक, ठूला मिडियामा करोडौँको विज्ञापन दिएर आलोचना दबाउने प्रयास भइरहेको आरोप पनि छ, जसले स्वतन्त्र पत्रकारिता र पारदर्शिता दुवैमा चोट पुर्‍याएको बताइन्छ। ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को आर्थिक स्रोतबारे पारदर्शी विवरण सार्वजनिक नभएको र यस किसिमका महँगो कार्यक्रमहरू उपभोक्ता हितभन्दा बढी ठूला व्यवसायीहरूको स्वार्थपूर्तिमा केन्द्रित हुने आशंका बढ्दो छ। महँगो टिकट, झुटा अफर, कमजोर गुणस्तरका गाडी र अतिरञ्जित प्रचारले भरिएको यो मेला नेपाली उपभोक्ताको विश्वासलाई थप कमजोर बनाएको टिप्पणी गरिन्छ।