‘फिफा द बेस्ट’मा अटेनन् मेसी र रोनाल्डो - ehimalayatimes.com
लण्डन । पछिल्लो बलोन डि’ओर विजेता तथा पेरिस सेन्ट-जर्मेन (पिएसजी)का फ्रान्सेली फरवार्ड उस्मान डेम्बेले र बार्सिलोनाका स्पेनिस युवा स्टार लामिन यमलले फिफाको ‘द बेस्ट’ पुरुष खेलाडी बन्ने दौडमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ । यो वर्ष कुल ११ जना पुरुष खेलाडी यस प्रतिस्पर्धामा छन् । फिफाले विभिन्न श्रेणीमा उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरेको छ । गत वर्षको प्रदर्शनका आधारमा पुरुष र महिला दुवैमा उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र वर्षको उत्कृष्ट टोली छनोट गर्न फिफाले सूची प्रकाशित गरेको हो । फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारमध्ये एक हो, ‘फिफा द बेस्ट’ । हरेक वर्ष विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न श्रेणीमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरुष खेलाडीको मनोनयनमा डेम्बेले र यमलसहित अफ्राच हाकिमी, ह्यारी केन, किलियन एमबाप्पे, नुनो मेन्डेस, कोल पाल्मर, पेड्री, राफिन्हा, मोहम्मद सलाह र भिटिन्हा हुनुहुन्छ । महिला खेलाडीको मनोनयनमा स्यान्डी बाल्टिमोर, नाथाली ब्योर्न, आइताना बोनमाती, लुसी ब्रोन्ज, मारियोना काल्देन्ते, टेम्वा चाविंगा, काडिडियातु डियानी, मेली दुर्मोर्ने, पत्री गुइजारो, लिन्दसे हिप्स, लोरेन जेम्स, क्लो केली, इवा पाजोर, क्लाउडिया पिना, एलेक्सिया पुटेलास, एलेसिया रुशो र लिया विलियमसन रहनुभएको छ । बलोन डि’ओरमा जस्तै फिफाको ‘द बेस्ट’ पुरस्कारका लागि पनि यसपटक प्रशिक्षकहरूबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । पुरुष फुटबलमा हाभिएर एगुइरे, मिकेल आर्टेटा, लुइस एन्रिक, ह्यान्सी फ्लिक, एन्जो मारेसका, रोबर्टो मार्टिनेज र आर्ने स्लट मनोनयनमा हुनुहुन्छ । त्यस्तै, महिला फुटबलमा सोनिया बम्पास्टोर, जोनाथन गिराल्डेज, सेब हाइन्स, रेने स्लेगर्स र सारिना वेगम्यान प्रतिस्पर्धामा हुनुहुन्छ । यसपालि पनि लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो ‘फिफा द बेस्ट’ को मुख्य सूचीमा हुनुहुन्न । युरोपबाहिर खेल्दै आएका कारण पछिल्ला वर्षहरूमा उहाँहरूलाई यस श्रेणीमा देखिँदैन । तर, दुवैजना पुरुष फुटबलको ‘वर्षको उत्कृष्ट ११’ को मनोनयनमा भने पर्नुभएको छ । एजेन्सी