ओमानले कडा बनायो कामदार भिसा प्रक्रिया - bishwokhabar.com
काठमाडौं- खाडी मुलुक ओमानले शैक्षिक र व्यावसायिक प्रमाणपत्रहरूसँग जोडेर विदेशी कामदारलाई दिने भिसा प्रक्रियाका नियमहरूलाई कडा बनाएको छ । ओमानको यो कदमले केही पेशाहरूमा विदेश कामदारहरूले ओमान जानुअघि नै कागजातका आधारमा आफू योग्य रहेको प्रमाणित गर्नुपर्ने छ । ओमानी अधिकारीहरूले नक्कली प्रमाणपत्रहरू पेस भएको अवस्थामा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ओमानको श्रम मन्त्रालयका निर्देशक जहेर बिन अब्दुल्लाह अल शेखले आप्रवासी कामदारको सीपसम्बन्धी कागजातहरूको प्रमाणिकतामा कुनै पक्षपात नहुने बताएको गल्फ न्युजले उल्लेख गरेको छ । गल्फ न्युजले ओमानी श्रम मन्त्रालयले रोजगारीका लागि नक्कली प्रमाणपत्रहरू समावेश गर्ने घटनाहरू बढेको पत्ता लगाएपछि कडाइ गर्न सुरुवात गरेको बताएको छ । ओमानले आफ्नो मुलुकका रोजगारदातालाई विदेशी कामदारले रोजगारीका लागि पेस गरेका कागजात गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने भन्दै गलत गर्नेलाई विदेशी कामदार ल्याउन प्रतिबन्ध लगाउने, जरिमाना गरी इजाजतपत्र रद्द गर्ने बताएको छ । पछिल्लोपटक गरिएको कडाइ व्यावसायिक स्तरलाई सुदृढ पार्न, पारदर्शितामा सुधार गर्न, रोजगारदाताहरूको सुरक्षा गर्न तथा स्थानीय ओमानीलाई रोजगारमा लगाउने व्यापक श्रम बजार सुधारका अंश भएको बताइएको छ । हाल ओमानमा २५ हजार नेपाली कार्यरत छन् । तर पछिल्ला दिनमा रोजगारीका लागि ओमान जाने क्रममा सुस्तता आएको छ । नेपाल सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पु¥याएको र हस्ताक्षरका लागि ओमानी पक्षको जवाफ पर्खिरहेको बताए पनि हालसम्म श्रम सम्झौता हुन सकेको छैन । नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको थियो । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्ने र बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्ने कार्यदलस्तरमा सहमति भएपनि सम्झौता नहुँदा नेपाली कामदारले लाभ पाउन सकेका छैनन् भने उक्त मुलुक जाने क्रममा पनि सुस्तता देखिएको छ ।