बीपी राजमार्गको पुनर्निर्माण बर्खाअघि नै सक्न कुलमानको निर्देशन - bishwokhabar.com
काठमाडौं– गत वर्षको असोज र यस वर्षको बाढी पहिरोले क्षति पुर्याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलान्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको यातायात र सहरी विकास मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् । सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतका टोलीसहित मन्त्री घिसिङ अनुगमन गर्न पुगेका थिए । घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था, जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका थिए । हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् । उनले जलशक्ति थप र विद्युतको व्यवस्था गरी राती पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।