पोखरा विमानस्थलका आयोजना प्रमुखविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा - www.nepalclicks.com
काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा २ करोड ५० लाख ३४ हजार रुपैयाँ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो। अख्तियारले मुनंकर्मीकी श्रीमती पूर्णकेशरी गोसाईलाई समेत प्रतिवादी बनाएको छ। २०५४ साल फागुन १ गतेदेखि २०८० साल कात्तिक १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धकसमेत रहेका मुनंकर्मीले एकाघर परिवारले कानुनी रूपमा आर्जन गरेको कुल आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा देखिएको थियो। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर, सुनचाँदी, बीमा प्रिमियम, अध्ययन शुल्क, ऋण भुक्तानी, व्यवसाय लगानी, बैंक तथा सहकारी खातामा मौज्दात, नगद, मुद्दती खाता तथा विदेशी मुद्राको रूपान्तरणसमेत गरी कुल खर्च ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा पुगेको अख्तियारको दाबी छ। आयभन्दा खर्च २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा बढी देखिएपछि उक्त रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले सो बराबरको गैरकानुनी सम्पत्ति आर्जन भएको निष्कर्षसहित मुद्दा दायर गरेको हो। वैधानिक आयको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरेको अख्तियारको ठहर छ।