Redirecting...

लोकप्रियताको कसीमा उल्टो बाटोतिर नेपाली क्रिकेट - nepalnews.com

लोकप्रियताको कसीमा उल्टो बाटोतिर नेपाली क्रिकेट - nepalnews.com
Source: NPNW

११ असोज २०७६ सालमा नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष निर्वाचित हुँदै गर्दा चतुरबहादुर चन्दले नेपाललाई आफ्नै कार्यकालमा टेस्ट राष्ट्रको मान्यता दिलाउने लक्ष्य राखेको बताएका थिए। आफ्नो पहिलो कार्यकालको सुरुआत गर्ने क्रममा उनले भनेका थिए, “एकदिवसीय मान्यतालाई कायम राख्दै नेपाललाई उदीयमान राष्ट्रबाट टेस्ट राष्ट्र बनाउने गरी तयारी सुरु भइसकेको छ। यसलाई मेरो कार्यकालभित्र सफल बनाउने लक्ष्य छ।” अध्यक्षको रूपमा उनको यो दोस्रो कार्यकाल हो। क्यानको विधानमा अध्यक्ष पदमा दुई कार्यकाल मात्र लड्न पाउने प्रावधान छ। यस हिसाबले उनले क्यानबाट बिदा लिन डेढ वर्ष मात्र बाँकी छ। यस अवधिमा उनले क्यानलाई टेस्ट राष्ट्रको सूचीमा समावेश गराउने कुरा त सपना भइहाल्यो, आफ्नो कार्यकाल अवधिभर ढंगको क्यालेन्डर पनि बनाउन सकेनन्। अझ यतिबेला क्यानले प्राप्त गरेको २०२७ सम्मको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि गुम्ने खतरा उत्तिकै छ। यस्तो अवस्थामा क्यानले गत शनिबार आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्‍यो। तर, दुःखको कुरा उक्त क्यालेन्डरमा बहुदिवसीय क्रिकेटलाई आफ्नो योजनामा राख्ने त टाढाको कुरा, नेपाली क्रिकेटले विगतमा प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्ने योजना पनि देखिँदैन। क्यालेन्डरमा टेस्ट क्रिकेटको मेरुदण्ड मानिने पाँचदिने प्रतियोगिता समावेश छैन। जय ट्रफीलाई पनि १० दिनमा खुम्च्याइएको छ। नयाँ भनिएका लामो फर्म्याटका महिला प्रतियोगिता पनि आयोजना हुने हुन् कि होइनन्, अत्तोपत्तो छैन। ढर्रा पुरानै क्यान अध्यक्षको कुरा पुरानो भइसकेको छ। क्रिकेटप्रेमीहरूले उनको कुरालाई गम्भिरताका साथ लिन छोडिसकेको अवस्थामा पहिलोपल्ट सचिव बनेका पारस खड्काले यसै वर्षदेखि टेस्ट राष्ट्रको पुरानै कुरालाई दोहोर्‍याएका छन्। अझ, उनले सिंगापुरमा आयोजना भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आईसीसी) को बैठकमा नेपाल टेस्ट राष्ट्र बन्न तयार रहेको सन्दर्भ कोट्याएर अध्यक्ष चन्दलाई हौसाएका थिए। तर, क्यालेन्डर सार्वजनिक भएपछि सबै निराश छन्। सचिव खड्काको पृष्ठभूमि अध्यक्ष चन्दजस्तो राजनीतिक र क्रिकेट नबुझ्ने (पारस खड्काको तुलनामा) पक्कै होइन्। लामो समय राष्ट्रिय टोलीको कप्तान हुँदै व्यवस्थापनमा होमिएका उनी एकदिवसीय विश्वकपमा छनोटको आधार मानिने लिग–२ खेलिरहेका नेपाली खेलाडीलाई आफ्नै कार्यकालमा टेस्ट क्रिकेट खेलाउने सपना बाँडिरहेका छन्। क्यानका सचिव पारस खड्का। तस्बिर सौजन्य : इलिट जोशी १७–२० जुलाईमा सिंगापुरमा भएको आईसीसीको वार्षिक साधारणसभामा उनले नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउन आफूले गरेको गृहकार्यको नमुना देखाएका थिए। तर, क्यालेन्डरमै पाँचदिने क्रिकेटलाई समावेश नगराएपछि अन्तर्राष्ट्रिय समुदायको अगाडि उनी हाँसोको पात्र बन्ने पक्का छ। पूर्वक्रिकेटर राजकुमार प्रधान भन्छन्, “टेस्ट क्रिकेट खेल्न सबैभन्दा आवश्यक पर्छ, बलियो ‘रेड बल’ को संस्कार। जसको अर्थ सेतो पोसाक लगाएर पाँच दिनसम्म क्रिजमा टिक्ने सोच र बानी पार्नु हो।” यसका लागि ब्याटरले ३० बल होइन, ३०० बलसम्म क्रिजमा टिक्ने मानसिक तयारी गर्नुपर्छ। बलरले दुई ओभर होइन, लगातार १५–२० ओभर एउटै लाइन–लेन्थमा बलिङ गर्न सक्नुपर्छ। यीबाहेक पनि फिल्डरले पाँच दिनसम्म उस्तै ऊर्जा र एकाग्र साथ मैदानमा आफूलाई चुस्त राख्नु पर्छ। यी सबै कुरा लामो अभ्यास, प्रशिक्षण र घरेलु प्रतियोगिताबाट मात्र विकसित हुन्छन्। यहीँबाट प्रश्न उठ्नु सान्दार्भिक छ– के नेपाली क्रिकेटमा ‘रेड बल’ संस्कार विकसित भइरहेको छ? क्यानले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर हेर्दा यसको उत्तर स्पष्ट छ– अहँ छैन। भर्खरै सार्वजनिक क्यालेन्डरमा क्रिकेट गतिविधि प्रशस्त छन्। तर, तीमध्ये अधिकांश छोटो फर्म्याटमा मात्र केन्द्रित छ। गत वर्षदेखि सुरु भएको ‘रेड बल’ क्रिकेट प्रतियोगिता जय ट्रफीलाई पनि जम्मा १० दिनमा सीमित राखिएको छ। त्यसमा पनि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताका शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले मात्र खेल्ने छन्। क्यानका अनुसार यो प्रतियोगिताका खेल लिग चरणमा दुई दिन र फाइनल भने तीन दिनको हुनेछ। लामो फर्म्याटमा खेल्न सक्ने गुण कुनै खेलाडीमा जन्मजात हुँदैन। न त नेट सेसन वा छोटो प्रतियोगिताबाट नै विकसित हुन्छन्। बारम्बार असफल भएर, दबाबमा टिकेर, खराब पिचमा संघर्ष गरेर र कठिन परिस्थितिमा निर्णय लिँदै यी गुणहरू विकसित हुने गर्छन्। भारतका ब्याटर रणजी ट्रफीमा सयौं घण्टा ब्याटिङ, बलिङ र फिल्डिङ गरेर निखारिन्छन्। अस्ट्रेलियाका बलर सेफिल्ड सिल्डमा लामो स्पेल बलिङ गरेर परिपक्व हुन्छन्। बाङ्लादेशले पनि क्रिकेटमा कमजोर प्रदर्शन गरिरहेकै बेला राष्ट्रिय क्रिकेट लिगलाई निरन्तरता दिएर बिस्तारै आफ्नो आधार बलियो बनाएको हो। भारतले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट राख्न रणजी ट्रफी, दलिप ट्रफी, विजय हजारे, सैयद मुस्ताक अलीजस्ता घरेलु प्रतियोगिता आयोजना गर्छ र त्यसमा राष्ट्रिय खेलाडीले खेल्नैपर्ने अनिवार्य सर्त राखिएको छ। उक्त प्रतियोगिता नखेल्दा राष्ट्रिय टोलीमा छनोट नगराउने, केन्द्रीय अनुबन्धमा नराख्ने, भुक्तानी/म्याच शुल्क कटौती गर्ने वा अन्य अनुशासनात्मक कारबाही गर्ने नियम बनाएको छ। “बहुदिवसीय खेल खेल्दा टी–२० र एकदिवसीय क्रिकेट खेल्न सजिलो हुन्छ। लामो खेल हुने भएकाले शरीरको सहनशक्ति बढ्छ, मानसिक ध्यान र धैर्य मजबुत हुन्छ। खेलको रणनीति बुझाइ पनि बढ्छ। त्यसैले छोटो फर्म्याटका खेलमा आउने दबाब र तीव्रता सजिलै सामना गर्न सकिन्छ,” पूर्वलेग स्पिनर प्रधान भन्छन्। क्यानले आफ्नो क्यालेन्डरमा समावेश गरेका प्रतियोगिताहरू नयाँ होइनन्, अधिकांश पुरानै छन्। प्रधानमन्त्री कप, नेपाल प्रिमियर लिग (एनपीएल), स्कुल, यू–१६ र यू–१९ प्रतियोगिता, जिल्ला र प्रदेश छनोटलगायतका प्रतियोगिता पुरानै हुन्। फरक भनेको नेताको नाममा हुने प्रतियोगिता यसपल्ट क्यानको तालिकामा छैन। सन् २०२६ को नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यालेन्डर त्यसैले जिल्ला र प्रदेशसँग सहकार्य गर्दै घरेलु प्रतियोगितालाई पनि व्यस्त बनाउनुपर्ने हो। तर, क्यानले उही राष्ट्रिय टिममा परेका २५/३० जनालाई नियमित खेलाइरहने प्रतियोगितालाई मात्र प्राथमिकतामा राखेको छ। त्यसमा करिब एक दर्जन त टी–२० आई फर्म्याटका छन्। यसमा पनि क्यानको आफ्नै तर्क छ। अन्तर्राष्ट्रिय खेलका कारण सिनियर खेलाडी व्यस्त हुने भएकाले घरेलु प्रतियोगिता त्यति राखिएको छैन। “हाम्रो क्यालेन्डर निकै व्यस्त छ। राष्ट्रिय खेलाडीले क्यालेन्डरअनुसार सबै प्रतियोगिता खेल्न भ्याउँदैनन्,” अध्यक्ष चतुरबहादुर चन्द भन्छन्। किन महत्त्वपूर्ण छ, घरेलु लिग र लामो फर्म्याट? घरेलु क्रिकेटमा आक्कलझुक्कल दुईदिवसीय प्रतियोगिता पनि भएका थिए। पुस २०७६ मा हिमालयन क्रिकेट एकेडेमीले यू–१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता गरेको थियो। त्यसअघि सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमा नेपालले यूएईसँग तीनदिवसीय क्रिकेट खेलेको थियो। त्यो प्रथम श्रेणीको मान्यता प्राप्त प्रतियोगिता हो। सन् २०१६ मा निलम्बनमा परेपछि क्यानले आयोजना गर्ने प्रतियोगिता रोकिए। निजी क्षेत्रको लगानीमा एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, कोसी प्रिमियर लिगजस्ता टी–२० फ्रेन्चाइजी लिग हुन थाले। सुरूमा आयोजक आफैँले ठूलो धनराशि खर्चिएको लिगमा दर्शक र प्रायोजकको ओइरो लाग्न थाल्यो। त्यसपछि टी–२० लिगको बाढी नै आउन थाल्यो। सजिलै प्रायोजक र पर्याप्त दर्शक पाइने भएका कारण आयोजकले यस्ता प्रतियोगिताबाट आर्थिक लाभ पनि उठाए। त्यसैले निजी क्षेत्र लामो ढाँचाभन्दा टी–२० प्रतियोगिता गर्न बढी उत्साहित देखिए। त्यति उत्साहलाई ‘क्याच’ गर्न क्यान आफैँले एनपीएल सुरु गरेको हो। त्यसयता क्यानले निजी क्षेत्रबाट आयोजना भइरहेका कुनै पनि लिगलाई राष्ट्रिय मान्यता दिएको छैन। यही कारण छोटा फर्म्याटका प्रतियोगिता केही मात्रामा घटेका छन्। तर, यस्ता लिगले देशभित्र क्रिकेटको माहोल तयार पार्न र व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। एनपीएलले पहिलो संस्करणमै २७ करोडभन्दा बढी आर्जन गरेको थियो। त्यसमा करिब साढे दुई करोड त नाफा राखेको दाबी गर्‍यो। यो संस्करणमा ४० करोड आम्दानी गर्ने लक्ष्य बनाएको छ। तर, अबको आवश्यकता ५० ओभर र त्यसभन्दा माथिको ढाँचाका प्रतियोगिता नै रहेको महिला टोलीका पूर्वप्रशिक्षक मनोज कटवाल बताउँछन्। “हाम्रो खेलाडीमा प्राविधिक समस्या छ। जथाभावी हानेर आउट भइहाल्छन्। यू–१९ एसिया कपकै कुरा गर्ने हो भने पनि हामीले ५० ओभरसम्म कुनै खेल खेल्न सकेनौँ। हामी त टेस्ट राष्ट्र बन्ने लक्ष्यमा छौँ। त्यसैले लामो फर्म्याटको क्रिकेट ज्यादाभन्दा ज्यादा खेल्नैपर्छ,” उनी भन्छन्। नेपालले ओडीआई मान्यता पाएको करिब साढे सात वर्ष हुन लागिसकेको छ। ८० भन्दा बढी खेल खेलेको छ। तर, नेपालको प्रदर्शन एसोसिएट राष्ट्रविरुद्ध बाहेक अन्यसँग राम्रो छैन। भारत, पाकिस्तान, जिम्बाबे र आयरल्यान्डजस्ता टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउँदा ब्याटिङमै समस्या देखिने गरेको छ। यसमा सुधार ल्याउन पनि लामो ढाँचाकै प्रतियोगिता आवश्यक छ। “जतिसक्दो लामो स्वरूपको क्रिकेट खेलाउनुपर्छ। दुई या तीनदिवसीय क्रिकेट प्रतियोगिता भइदिए खेलाडीले धेरै खेल्न पाउँथे,” उनी भन्छन्। पछिल्लो समय नेपालले एकदिवसीय मान्यता जोगाएपछि क्रिकेटको माहोल तातिएको छ। जिल्ला र प्रदेशमा क्रिकेट सिकाउने एकेडेमीहरू दर्जनभन्दा बढी खुलेका छन्। सचिव खड्का आफैँले पनि क्रिकेट एक्सिलेन्स सेन्टर चलाइरहेका छन्। क्यानकै केन्द्रीय सदस्य रहेका सुदीप शर्मालगायतले पनि एकेडेमीमा लगानी गरिरहेका छन्। त्यसैले क्रिकेटर बन्ने सपना बुनेर टाढाटाढाबाट काठमाडौँसम्म आउनुपर्ने बाध्यता अब कुनै खेलाडीमा देखिँदैन। यही कारण पछिल्लो समय पर्याप्त खेलाडी उत्पादन भइरहेका छन्। यस्ता खेलाडी क्यानको केन्द्रीय समितिमातहत रहेका प्रादेशिक र जिल्ला क्रिकेट संघले गर्ने प्रतियोगिताबाट छानिए राष्ट्रिय टोलीको ‘ब्याकअप’ बन्न आउने गर्छन्। तर, बलियो राष्ट्रिय टोलीको ‘ब्याकअप’ अझै बलियो बन्न सकेको देखिँदैन। त्यो भरखरै सम्पन्न भएको एनपीएलको नतिजाले पनि देखाउँछ। दोस्रो संस्करणको एनपीएल विजेता टोली लुम्बिनी लायन्स उक्त प्रतियोगितामा स्पिनर शेर मल्लबाहेक अन्यका प्रदर्शन हेर्ने हो भने निराशाजनक देखिन्छ। प्रतियोगिताभर राष्ट्रिय टोलीमै परेका खेलाडीले दबदबा जमाए। कप्तान रोहितकुमार पौडेलले प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै कार पाए। सर्वाधिक रनकर्ता (२७४) बन्दै उनले नै बाइक पनि हत्याए। विराटनगर किङ्सलाई क्यालिफायर २ मा पुर्‍याएका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक १७ विकेट लिए र बाइक हात पारे। यीबाहेक सर्वाधिक रनकर्ताको सूचीमा (२६४ रन) रहेका विनोद भण्डारी पछिल्लो समय टोलीमा पर्न छाडेका खेलाडी हुन्। सन्दीपसँगै १७ विकेट लिएक अविनाश बोहरा र १३ विकेट लिएका साहब आलम राष्ट्रिय टोलीमा पर्दै निस्किँदै गर्ने खेलाडी हुन्। यीबाहेक राष्ट्रिय टोलीमा रहेका केही खेलाडीले मध्य प्रदर्शन देखाउँदा युवा खेलाडीले राष्ट्रिय टिममा आउने बाटो पहिल्याउन सकेनन्। प्रतियोगिताकै कमीका कारण यीजस्ता राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई टक्कर दिन सक्ने क्षमतावान् खेलाडी आउन नसकेको कर्णाली याक्सका प्रशिक्षक राजु बस्न्यात बताउँछन्। “केही हदसम्म प्रतियोगिता भइरहेका छन्। तर, त्यो पर्याप्त देखिँदैन। अहिले पनि क्यानकै मुख ताक्नुपर्ने अवस्था छ। धैरैभन्दा धेरै प्रतियोगिता भइदिएको भए माथिल्लो स्तरमा प्रतियोगितामा खेलाडी अझै परिपक्क बनेर आउँथे,” उनले एनपीएलमै भनेका थिए। खाडल बढाउँदै क्यान क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई व्यस्त राख्ने र घरेलु खेलाडीलाई केही प्रतियोगितामा सीमित राख्ने क्यालेन्डर बनाउँदा प्रदर्शनको खाडल अझ बढ्ने देखिन्छ। किनभने सिनियर खेलाडीले घरेलु प्रतियोगिता छोड्दा नयाँ खेलाडीले अवसर पाउने सम्भावना नै कम हुन्छ। यसले घरेलु क्रिकेटको महत्त्वसम्म घटाउने निश्चित हुन्छ। साथै, नयाँ खेलाडीले सिक्ने अवसर पनि कम पाउने गर्छन्। त्यसैले राष्ट्रिय टोलीको छनोट पारदर्शी राख्न गाह्रो हुन सक्छ। सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको टी–२० विश्वकप खेलेपछि नेपाली टोलीले लामो समय अन्तर्राष्ट्रिय मञ्चमा संघर्ष गर्नुपरेको थियो। त्यसपछि सोही मञ्चमा फर्किन करिब एक दशक लाग्यो। नेपालले सचिव खड्काकै कप्तानीमा तीन र सन्दीप लामिछानेको कप्तानीमा एकपल्ट विश्वकप छनोट खेल्यो। तर, उक्त सफलता दोहोरिन सकेन। २०२३ मा घरेलु मैदानमा भएको अर्को छनोटमा नेपालले नयाँ कप्तान पायो रोहितकुमार पौडेल। कान्छो कप्तानको नेतृत्वमा नेपालले अघिल्लो छनोटमा यूएईसँग बेहोरेको बदला मात्र लिएन, आठ विकेटले जित निकाल्दै एक दशकपछि विश्वकपमा पुनरागमन गर्न सफल भयो। यसपल्ट पनि उनकै कप्तानीमा नेपालले लगातार विश्वकपको ढोका खोलेको हो। टी-२० विश्वकपको ट्रफी टुरका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली टोलीका कप्तान रोहित पौडेल र छेउमा उभिएका क्यान अध्यक्ष चतुरबहादुर चन्द योसँगै नेपालले आयरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिजजस्ता टेस्ट राष्ट्रलाई बोलाएर क्रिकेट खेल्न थालिसकेको छ। क्यानकै अध्यक्ष चन्दको कुरालाई आधार मान्ने हो भने लगातार हात परेको सफलता देखेर अफगानिस्तान र बाङ्लादेशजस्ता टोली पनि नेपालसँग शृंखला खेल्न इच्छा देखाउँदै आएका छन्। त्यसैले यस्ता टोलीसँग खेलिरहन र टोलीलाई थप मजबुत बनाउन विद्यालय तहदेखि नै घरेलु क्रिकेटको संरचना बलियो बनाउनुपर्ने राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचन बताउँछन्। “नेपालको लक्ष्य भनेको टेस्ट मान्यता हो। त्यसैले विद्यालय तहदेखि नै यसको कल्चर बसाउनुपर्छ। दुःखको कुरा राष्ट्रिय टोलीमा पुग्ने लक्ष्यसाथ आउने खेलाडी लामो ढाँचाको क्रिकेटबारे अनभिज्ञ छन्। टी–२० गाह्रो छ। धेरै कुरा ब्याटरको खेलमा भर पर्छ। तर, दीर्घकालीनरूपमा यस्तो प्रतिस्पर्धाले फाइदा गर्दैन,” उनी भन्छन्। उल्टो बाटोमा क्यान क्रिकेट खेल र मनोरञ्जन क्षेत्र मात्र होइन। यो पछिल्लो समय राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र हो। लोकप्रियता, व्यापारिक सम्भावना र दर्शक संलग्नताको दृष्टिकोणबाट हेर्ने हो भने क्यान सही दिशामै देखिन्छ। टी–२० आई, एकदिवसीय प्रतियोगितामा लगानी, एनपीएलजस्ता व्यावसायिक लिगको सुरुआत र प्रधानमन्त्री एकदिवसीयजस्ता नियमित सीमित ओभरका प्रतियोगिताले नेपाली क्रिकेटलाई जनतासँग जोडेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शक बढेका छन्। प्रायोजकहरू आकर्षित छन् र क्रिकेट खेलाडीलाई करिअरको रूपमा हेर्ने वातावरण बन्दै गएको छ। आर्थिकरूपमा आत्मनिर्भर हुन संघर्ष गरिरहेको देशका लागि यस्तो मोड महत्त्वपूर्ण र आवश्यक पनि हो। तर, यही सकारात्मक चित्रको अर्को पाटो पनि छ। यो दीर्घकालीन लक्ष्यसँग जोडिएको छ। नेपालको लक्ष्य एसोसिएट राष्ट्रमा ‘नम्बर वान’ बन्दै टेस्ट राष्ट्र बन्ने हो। तर, हालको क्यालेन्डर त्यस लक्ष्यसँग मेल खाँदैन। यस्तो अवस्थामा क्यान कसरी हुन्छ आर्थिकरूपमा सम्पन्न बन्ने लक्ष्यमा होमिएको देखिन्छ। त्यसैले क्यानले महिला क्रिकेटरलाई करिब आधा दर्जन र पुरुषलाई त्यति नै संख्यामा शृंखला खेलाउने तालिका बनाएको छ। सचिव खड्का यसलाई बलियो आर्थिक आम्दानीको स्रोत मान्छन्। “द्विपक्षीय शृंखला नै हाम्रो आर्थिक स्रोतको बलियो आधार हो। जुन–जुलाईसम्म १२ देखि १५ खेल गर्ने लक्ष्य छ। त्यसबाट आम्दानी हुने रकमले हामीलाई चल्न पुग्छ,” उनी भन्छन्। उनका अनुसार आइसीसीले हाल नेपाललाई चार शीर्षकमा बजेट दिँदै आएको छ। ती वार्षिक सदस्य अनुदान, क्रिकेट विकास कार्यक्रम, प्रतियोगिता आयोजनालगायत हुन्। तर, यो रकम जुन शीर्षकमा आएको त्यसैमा लगाउनुपर्ने हुन्छ। क्यानले यसरी प्राप्त बजेट प्रायः राष्ट्रिय टिमको तयारीमै लगाइरहेको छ। सोही कारण जिल्ला र प्रदेशको असन्तृष्टि बढ्दो छ। यो कुरा उनी पनि स्विकार्छन्। त्यसमाथि घरेलु क्रिकेट निकै खर्चिलो रहेको उनको अर्को तर्क छ। गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता गर्दा १० देखि १२ करोड खर्च भएको उनको जिकिर छ। त्यसैले क्यानले घरेलु प्रतियोगिता आयोजना गर्ने जिम्मा जिल्ला र प्रदेशलाई पनि खुला छाडेको उनको भनाइ छ। यस अर्थमा क्यान अहिले दोबाटोमा उभिएको छ। एउटा बाटो छोटो फर्म्याटको सफलतामार्फत छिटो नतिजा, लोकप्रियता र आर्थिक स्थायित्वतर्फ अगाडि बढ्दै छ। अर्को भनेको त्यही बाटोमा डोर्‍याउने खेलाडीलाई जिल्ला र प्रदेशको हातमा सुम्पिएर क्यान आफ्नो जिम्मेवारीबाट पर भाग्दैछ। यसले कतिको सफलता दिने हो हेर्न बाँकी छ।