Redirecting...

श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ हुँदै - sahityapost.com

श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ हुँदै - sahityapost.com
Source: shpt

भरतपुर । श्रुति सङ्गीत पाठशालाले गजल मञ्च चितवनसँग सहकार्य गर्दै स्वरसम्राट् नारायणगोपालको ३५औँ पुण्यतिथि अवसरमा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ आयोजना गर्ने भएको छ। कार्यक्रम मंसिर २० गते शनिबार साँझ भरतपुर–४, वैदिकनगरस्थित स्वाद सदनमा हुन लागेको पाठशालाले जनाएको छ। पाठशालाका सञ्चालक तथा सङ्गीत प्रशिक्षक चन्द्र घलेका अनुसार साँझमा नारायणगोपाललगायत नेपाली सुगम सङ्गीतमा योगदान पुर्‍याइसकेका दिवङ्गत गायक–गायिकाहरूलाई एकै मञ्चबाट श्रद्धा अर्पण गरिनेछ। कार्यक्रममा पाठशालाका विद्यार्थी र ७ जना कलाकारले १४ वटा गीत प्रस्तुत गर्ने तयारी भइरहेको छ। ‘नारायणगोपालको पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरे पनि समग्रमा अग्रज कलाकारप्रति सम्मान प्रकट गर्ने हाम्रो उद्देश्य हो,’ घलेले बताउनुभयाे । उहाँका अनुसार प्रेमध्वज प्रधान, भक्तराज आचार्य, तारादेवी, अरूणा लामा, अरूण थापा लगायतका कलाकारलाई पनि स्मरण गरिनेछ। पाठशालाले नयाँ पुस्ताका कलाकारलाई प्रेरणा, अभ्यास र सौन्दर्यबोध विकास गर्नका लागि स्मृतिसँग जोडिएका कार्यक्रमहरूको निरन्तरता दिँदै आएको छ। हाल ‘स्मृति साँझ’ का लागि नियमित अभ्यास सञ्चालन भइरहेको पाठशालाले जनाएको छ। भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा गजल मञ्च चितवनको सहकार्यमा आयोजना हुने कार्यक्रम श्रुति सङ्गीत पाठशालाको २०६० सालदेखि निरन्तर चलिरहेको सांगीतिक साधनाको अर्को उपलब्धि मानिएको छ। दुई दशकभन्दा बढी अवधिमा पाठशालाले करिब ३ हजार विद्यार्थीलाई औपचारिक गीत–सङ्गीत प्रशिक्षण प्रदान गरेको छ। स्वरसम्राट् नारायणगोपाल गुरूवाचार्य (जन्म : १९९६ असोज १८ – निधन : २०४७ मंसिर १९) द्वारा नेपाली सुगम सङ्गीतमा पुर्‍याइएको योगदान आज पनि उत्तिकै प्रशंसनीय मानिन्छ। The post श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ हुँदै appeared first on साहित्यपोस्ट.