असार मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ६५ लाख पुगे: फोरजीका बढे, थ्रीजीका उल्लेख्य घटे - technologykhabar.com
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या असार मसान्तसम्म २ करोड ६५ लाख पुगेको छ। यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म टुजी, थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो। हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ असार मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ४७ लाख ११ हजार ७४ ले घटेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड १२ लाख ११ हजार ७४ रहेको थियो। २०८२ असार महिनाको समग्र २ करोड ६५ लाख ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ४७ लाख ५४ हजार ४०७ रहेको छ। यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख ५० हजार ८१६ तथा फोरजीका १ करोड ४० लाख ३ हजार ५९१ समावेश छन्। तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, १७ लाख, ४५ हजार ५९३ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता १ लाख १२ हजार २४२ र फोरजी १ करोड १६ लाख ३३ हजार ३५१ रहेका छन्। फोरजी: टेलिकमले उल्लेख्य गुमायो, एनसेलले अत्यधिक थप्यो २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य गुमाएको छ। फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले १२ लाख ७८ हजार ३४६ ग्राहक गुमाएको छ। २०८१ असार मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ५२ लाख ८१ हजार ९३७ थिए भने २०८२ असारमा आइपुग्दा यो सङ्ख्या १ करोड ४० लाख ३ हजार ५९१ मा आइपुगेको छ। एनसेलले भने एक वर्षमा ४६ लाख ८२ हजार ८७३ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ। २०८१ असार मसान्तसम्म एनसेलका फोरजी ग्राहक ६९ लाख ५० हजार ४७९ थिए भने २०८२ असारमा आइपुग्दा यो सङ्ख्या १ करोड १६ लाख ३३ हजार ३५१ मा आइपुगेको छ। थ्रीजी: टेलिकमले र एनसेल दुवैले उल्लेख्य गुमायो २०८२ असार महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा उल्लेख्य अर्थात् ४९ लाख ३२ हजार २९० ले गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख ५० हजार ८१६ मा झरेका छन्। यो आँकडा २०८१ असार मसान्तसम्म ५६ लाख ६३ हजार १०६ रहेको थियो। एनसेलले पनि उल्लेख्य ७१ हजार ४१४ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या १ लाख १२ हजार २४२ मा झारेको छ। यो आँकडा २०८१ असार मसान्तसम्म १ लाख ८३ हजार ६५६ रहेको थियो। समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन। तीमध्ये थ्रीजीका प्रयोगकर्ता उल्लेख्य सङ्ख्यामा घटेको छ भने फोरजीको सङ्ख्या थपिएको प्रतिवेदनले देखाएको छ। The post असार मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ६५ लाख पुगे: फोरजीका बढे, थ्रीजीका उल्लेख्य घटे appeared first on Technology Khabar.