गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिदै कांग्रेस - www.pardafas.com
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् । बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने जनाइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।