आइतवार अझै बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ कारण - www.nepalclicks.com
काठमाडौँ- अबका केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ। शनिवार देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको भएको र यो क्रम आइतबारदेखि झन् बढ्न सक्ने भएको विभागको अनुमान छ। आइतवारदेखि तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षा हुने उनको भनाइ छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिवार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ। तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन्। उनका अनुसार आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ। सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ। पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२.८ मिलिमिटर वर्षा भएको छ। यस्तै अर्घाखाँचीमा ७२.५, दाङको पदमपुरमा ७२.२ मिलिमिटर पानी परेको छ। अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। २४ घण्टामा ५० मिलिभन्दा कम वर्षा भए मध्यम र त्यो भन्दा बढी भए भारी वर्षा भएको मानिन्छ। न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले वर्षाका गतिविधि बढ्ने विभागको भनाइ छ। भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ जाने भएका कारण वर्षा बढी हुन सक्ने आकलन गरिएको हो। उनका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ ढल्किएको छ। के हो न्यूनचापीय रेखा?मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनमा माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखालाई न्यून चापीय रेखा भन्ने नाम दिइएको छ। यो रेखा पृथ्वीको भूमध्यरेखा, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ रेखा भने होइन। यसले भौगोलिक विवरण नभई मौसमी विवरणबारे मात्र जानकारी दिन सक्छ। मानन्धरका अनुसार जमिनबाट करिब १२ देखि १८ किलोमिटरमाथिको वायुमण्डलमा बन्ने यही रेखाका कारण मनसुनी गतिविधि चल्छ। जुन ठाउँमा तातो हावा हुन्छ, त्यो ठाउँमा चाप कम हुन्छ। मनसुनको समयमा प्रायःजसो यस्तो ठाउँ बन्छन्। त्यहाँको चापलाई सन्तुलित गर्न चारैतिरबाट वायुहरू आउने गर्छ। गर्मीको मौसममा समुद्रबाट बाफ आउँछ र त्यो पछि बादल बन्छ। त्यसरी आएको जलवाष्प न्यूनचापीय रेखामा बसेपछि त्यहाँ पानी पार्ने बादलको सिर्जना हुन्छ। ‘बादलमा पानीको चाप बढेपछि त्यहाँ बस्न सक्दैन र वर्षा हुन्छ,’ मानन्धरले भनिन्। पृथ्वीको उत्तरी गोलार्द्धमा गर्मीको समयमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समय हो। सूर्यको ताप बढी परेपछि न्यून चापको सिर्जना भई नै रहन्छ। यस्तोमा समुद्र र जमिनबीचमा मनसुनी पुलको अवधारणा अनुसार वर्षाको चक्र चल्छ। जमिन तातो हुँदा समुद्र चिसो हुन्छ। त्यसैले समुद्रबाट जमिनतर्फ हावा बहन्छ। मौसमविद्का अनुसार जाडो मौसममा भने ठीक उल्टो जमिन चिसो र समुद्र तातो हुन्छ। जसअनुसार जमिनबाट समुद्रतिर हावा जान्छ। गर्मीमा बन्ने न्यून चापीय रेखा एकै स्थानमा स्थिर रहँदैन। सूर्यको ताप रहेको स्थानमा उच्च चाप हुन्छ। उच्च र न्यून चापको बीचको सन्तुलन कायम गर्न अन्यत्रबाट पानी र हावा न्यून चापतर्फ सोहोरिएर सन्तुलित वातावरण बनाउँछ। पानी परिसकेपछि अवस्था तटस्थ बन्छ। त्यसपछि फेरि अन्यत्र जहाँ न्यून चाप बन्छ, त्यहाँ यही प्रक्रिया दोहोरिन्छ। न्यून चापीय रेखामा बादल बनिसकेपछि पानी पर्नका लागि बादलको छुट्टै संयन्त्रले काम गर्छ। बादलमा हुने र जमिनमा हुने पोजिटिभ आयोन र नेगेटिभ आयोनबीच सङ्घर्ष चल्छ। त्यसबेला करेन्ट निस्केर चट्याङ पर्छ। बादलमा हुने पानीको अणु यस्तो सङ्घर्षका क्रममा एकआपसमा मिल्ने र बिलाउने क्रम चल्छ। नेपालमा चल्ने मनसुनी प्रक्रियामा दिल्ली, गङ्गा नदी, बङ्गालको खाडीसम्म र नेपालको आसपास बढी न्यून चापीय रेखा बन्ने गर्छ। ‘न्यून चापीय रेखा नेपालको नजिक बन्दा बढी वर्षा हुने सम्भावना बलियो हुन्छ। ठ्याक्कै नेपालमाथि रहेका बेला अत्यधिक वर्षा हुन्छ। तल, दायाँबायाँ सर्दा भने कम वर्षा हुन्छ,’ ती मौसमविदको भनाइ छ। कहाँ कति वर्षा भइरहेको छ? हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्।