Redirecting...

शंकर पोखरेलको प्रश्न : उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले, जसको योजना उसैलाई श्रेय दिने कहिले ? - janatatimes.com

शंकर पोखरेलको प्रश्न : उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले, जसको योजना उसैलाई श्रेय दिने कहिले ? - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गर्नुभएको छ । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो प्रतिक्रिया जनाउनुभएको हो । २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सार्नुभएको थियो । उहाँले एक वर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । २०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोडसेडिङ मुक्त गर्न तत्कालीन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिक देखि नेपालमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो । यो कामको जस तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले लिने गर्नुभएको छ । सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो । तर उज्यालो नेपालका अभियानकर्ता र कार्यान्वयनकर्ता चाहिँ ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उज्यालो नेपालको प्रसङ्ग उठाउनुभएको हो । उहाँले लेख्नु भएको छ, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले, जसको योजना उसैलाई श्रेय दिने कहिले ?’