इंल्यान्डविरुद्धको टेस्ट शृंखला बचाउन भारत संघर्षरत, डब्लूटिसीमा रुटको कीर्तिमान - nagariknews.nagariknetwork.com
भारतविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा इंल्यान्ड सम्हालिएको छ ।लण्डनमा ३७४ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली जोए रुट र हेरी ब्रुकले सतकीय साझेदारी गरेपछि सम्हालिएको हो । एक विकेटको क्षतिमा ५० रनबाट आइतबार चौथो दिनको खेल थालेको इंल्यान्डले १०६ रन जोड्दा थप २ विकेट गुमाएपछि संकटमा परेको थियो । ब्रुक शतक उन्मुख छन् भने रुटले अर्धशतक बनाएका छन् । बेन डुकेट ५४ र क्याप्टेन ओली पोप २७ रनमा आउट भए । ओपनर ज्याक क्राउले भने तेस्रो दिन नै १४ रनमा आउट भएका थिए । यो समाचार तयार पार्दासम्म इंल्यान्डले ३ विकेटको क्षतिमा २३९ रन बनाएको छ । उसलाई जितका लागि १३५ रन चाहिएको छ । करिब साढे एक दिनको खेल बाँकी रहँदा ऊसँग ७ विकेट हातमा छ । मोहमद सिराजले २ र प्रशिद्ध कृष्णाले एक विकेट लिएका छन् । इंल्यान्डले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो । भारतले पहिलो इनिङ्समा २२४ र दोस्रोमा ३९६ रन बनाएको थियो । पाँच खेलको शृंखलामा इंल्यान्ड २-१ ले अघि छ । पाँचौ तथा अन्तिम टेस्टमा पराजित भए वा बराबरीमा सकिए भारतले शृंखला गुमाउनेछ । इंल्यान्ड भने अन्तिम टेस्टमा पनि जित निकाल्दै शृंखला ३१ ले जित्ने योजनामा रहेको छ । टेस्ट च्याम्पियनसिपमा रुटको ६ हजार रन यसैबीच, इंल्यान्डका जोए रुटले टेस्ट च्याम्पियनसिपमा आफ्नो ६ हजार रन पूरा गरेका छन् । भारतविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा अर्धशतक बनाउँदै उनले च्याम्पियनसिपमा ६ हजार रनको आँकडा पूरा गरेका हुन् । डब्लूटीसीमा यो उनको ६९औं खेल हो । उनी टेस्ट च्याम्पियनसिपमा ६ हजार रन पूरा गर्ने पहिलो क्रिकेटर पनि बनेका छन् । अस्ट्रेलियाका स्टेभन स्मिथले ४ हजार २ सय ७८ र मार्नुस लाबुस्चेनले ४ हजार २२५ रन बनाएका छन् ।