कुलमान पक्षबाट नवलपरासी पश्चिम–१ मा विजय कँडेल रास्वपा उम्मेदवार बन्ने - ehimalayatimes.com
नवपरासी । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा विजय कँडेलले दाबी गर्नुभएको छ । सुस्ता– ३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका सस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ । उनेपा राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै पार्टी कार्यसमितिमा नरहने बताउनुभएका कँडेलले चुनावी प्रतिस्पर्धामा उत्रने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्दै युवा व्यवसायी कँडेलले देशको अर्थतन्त्र र कूटनीति लगायतका विषयमा सुधारका लागि आफू चुनावी मैदानमा उत्रने निर्णय लिएको बताउनुभयो। ‘विगतमा निर्वाचित नेताहरुले जनताको प्रतिनिधि भएको बिर्सेर व्यक्तिगत स्वार्थमा लागेका कारण देश र जनताले दुःख पाए । त्यसैले हामीजस्ता व्यक्तिहरु राजनीतिमा होमिन बाध्य भएका हौँ,’ उहाँले भन्नुभयो । अंग्रजी साहित्यमा स्नातकोत्तर गर्नुभएका कँडेल केही वर्षको अस्ट्रेलिया बसाइपछी स्वदेश फर्किनुभएको हो ।। नेपाल फर्केलगत्तै व्यवसाय सुरु गरेका कँडेलका हाल काठमाडौं र चितवनमा गरि आधा दर्जन‘हाइजेनिक मिट सेन्टर’ व्यवसाय संचालनमा छन् । यसबाहेक उहाँ एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म, होटल रेस्टुरेन्ट लगायतका व्यवसायमा संलग्न हुनुहुन्छ । कँडेल युवालाई व्यवसायीमा जोड्न, व्यवसायिक क्षेत्रमा परिवर्तन ल्याउन राजनीतिमा आएको बताउँनुहुन्छ । ‘देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्वका लागि उम्मेदवारी घोषणा गरेको हुँ,’ उहाँले भन्नुभयो । यसअघि उहाँले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गर्नुभएको थियो । २०७९ को चुनावमा कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।