गोकर्णेश्वरको पूर्वमेयर तथा कांग्रेस नेता सन्तोष चालिसेको साढे ३ करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा परिवार नै तानियो - bishwokhabar.com
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार उनीविरुद्ध साढे ३ करोडभन्दा बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ । उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं– ३ बाट उनको नाम एकल सिफारिस भएको छ । उनी सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको भन्दै ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो । काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई संघीय संसदको अर्थ समितिका सभापति समेत बनेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको थियो । अनुसन्धानका क्रममा चालिसे र उनको परिवारको वैध आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र देखिएको छ जसमा उनको सार्वजनिक सेवा प्रवेश पूर्वको मौज्दात, पारिश्रमिक, भत्ता, छोरा तथा बुहारीको पारिश्रमिक, बैंक तथा सहकारीको ऋण, सेयर बिक्री र जग्गा बिक्री लगायतका स्रोतहरू समावेश छन् । तर, सोही अवधिमा चालिसेको खर्च तथा लगानी भने आयभन्दा निकै बढी देखिएको छ । घर निर्माण, आन्तरिक सजावट, जग्गा खरिद, सेयर खरिद, कर्जा भुक्तानी, जीवन बीमा र विभिन्न कम्पनीमा लगानी गर्दा उनले ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेको पाइएको छ । पारिश्रमिक, खर्च तथा लगानीको विवरण चालिसे मेयरमा निर्वाचित हुनु पहिले उनको बैंक मौज्दात १८ लाख ४० हजार ५२७ रुपैयाँ २४ पैसा थियो। मेयर भएपछि पारिश्रमिक १५ लाख ४९ हजार ६३६ रुपैयाँ २० पैसा बचत देखिएको छ। भत्ता ६ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा पाएको देखिएको छ। छोरा सागर चालिसे र सञ्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीको पारिश्रमिक बचत आय रकम ३३ लाख ५१ हजार २ रुपैयाँ २२ पैसा, सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिको पारिश्रमिक बचत आय ८ लाख ५६ हजार ८०० रुपैयाँ, बुहारी प्रमिला पोखरेलको पारिश्रमिक बचत आय रकम १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा, बोनस रकम २ लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा र बैंकबाट लिएको कर्जा १४ लाख २१ हजार रुपैयाँ, सहकारी संस्थाबाट लिएको कर्जा २ करोड ८ लाख ४९ हजार र इन्स्योरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ कर्जा लिएको देखिएको छ। चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी हुँदा ३३ लाख ७ हजार रुपैयाँ, सेयर बिक्रीबाट ३६ लाख ७२ हजार ७०५ रुपैयाँ ५२ पैसा देखिएको छ। बैंकबाट ७ लाख १ हजार ३७ रुपैयाँ ९३ पैसा ब्याज प्राप्त भएको देखिएको छ। कृषिबाट १ लाख ५० हजार ७९३ रुपैयाँ ४८ पैसा र जग्गा बिक्रीबाट ८२ लाख ६० हजार ९८७ रुपैयाँ ४९ पैसा आम्दानी देखिएको छ। यी सबै गरी चार करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा चालिसेका परिवारको कर्जासहितको वैधानिक आय आर्जन देखिएको छ। उनीहरूले यही अवधिमा गरेको खर्च पनि अख्तियारले हिसाब गरेको छ। घर निर्माण र फर्निचरमा ७० लाख ३ हजार ८३७ रुपैयाँ २८ पैसा खर्च देखिएको छ। घरको नक्सा पासमा २६ हजार ८३ रुपैयाँ २० पैसा, उग्रतारा स्यान्ड एन्ड फुटबल रिक्रियसन सेन्टर निर्माणमा ८ लाख ४० हजार र यसको सञ्चालनमा १५ हजार ७ सय रुपैयाँ खर्च भएको देखिएको छ। बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा ६ लाख ७० हजार ८७ रुपैयाँ १० पैसा, बिमा प्रिमियम भुक्तानीमा ३१ लाख ४२ हजार ९३ रुपैयाँ, कम्पनी लगानीमा ४१ लाख ९१ हजार ६ सय रुपैयाँ, शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा २ करोड १८ लाख ७० हजार ६९५ रुपैयाँ र सेयर खरिदमा ९१ लाख १९ हजार ८४० रुपैयाँ खर्च गरेको पाइएको छ। कर्जा लिँदा तिरेको सेवा शुल्क एक लाख ४५ हजार ९९५ रुपैयाँ, सहकारीबाट लिएको कर्जा नवीकरणमा एक लाख २३ हजार ४१० रुपैयाँ, जग्गा खरिदमा २ करोड ८९ लाख ६४ हजार ९१० रुपैयाँ ९९ पैसा, जग्गा बिक्रीको लाभ कर १ लाख ५ हजार ५ सय, व्यवसाय कर २ हजार ३६० रुपैयाँ र सवारी कर १ लाख ४१ हजार ६५० रुपैयाँ तिरेको पाइएको छ। सवारी कर्जाको साँवा र ब्याज ३७ लाख ८३ हजार २६२ रुपैयाँ ६६ पैसा, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज ५ लाख ८० हजार ७५३ रुपैयाँ र जाँच अवधिसम्ममा रहेको अन्तिम मौज्दात ४९ लाख ५५ हजार ८१८ रुपैयाँ १० पैसा देखिएको छ। यो अवधिमा उनले ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारको निष्कर्ष छ। समग्र आय ४ करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ मात्रै देखिए पनि ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा खर्च तथा लगानी गरेको देखिएको छ। यसरी हेर्दा उनको कुल वैध आयभन्दा कुल खर्च तथा लगानी ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बढी देखिएको छ । उक्त रकमको स्रोत पुष्टि नभएपछि सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ। चालिसेले अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसँग ऋण लिएको भन्दै तमसुक पेस गरे पनि ती कागजपत्रहरू पछि तयार पारिएको ठहर गरिएको छ। जाँच अवधिभित्र पारेर पछिबाट खडा गरिएका लिखतहरूले वैधानिक स्रोत पुष्टि गर्न नसकेको र उनले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोपपत्रमा उल्लेख छ । सन्तोष चालिसेलाई अख्तियारले बयानमा बोलाएपछि उनले त्यो रकम ऋण, सापटी लिएको दाबी गर्दै तमसुक समेत पेस गरेका थिए। उनले आफ्नो परिवारका नाममा भएको खर्च पनि अन्य व्यक्तिबाट भएको दाबी अख्तियार समक्ष गरेका थिए। तर चालिसेले यसो गरेर भ्रम सिर्जना गर्न कोसिस गरेको अख्तियारले अभियोग पत्रमा भनेको छ। वैधानिक स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले सन्तोष चालिसेको परिवारलाई नै प्रतिवादी बनाएको छ। जसमा उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई भने सम्पत्ति जफतको लागि प्रतिवादी बनाइएको हो।