Redirecting...

ध्वंसात्मक विचार निर्माणमा विनिर्माणवादको भूमिका - sahityapost.com

ध्वंसात्मक विचार निर्माणमा विनिर्माणवादको भूमिका - sahityapost.com
Source: shpt

हालसम्मका विचार र दर्शनहरूमध्ये विनिर्माणवाद सबैभन्दा ध्वंसात्मक रहेको आक्रामक प्रतिक्रिया दिइएको छ । दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब अवस्थामा पुगेको वर्तमान विश्व परिस्थितिलाई अध्ययन गरी यसका कारकहरू खोज्ने क्रममा अमेरिकी समाजशास्त्रीहरूद्वारा नै यस्तो निष्कर्ष निकालिएको हो । यस्तो प्रतिक्रिया मार्क्सवादी दृष्टिकोणको घेराभित्र सीमित छैन। विनिर्माणवाद फ्रान्सेली विचारक ज्याक डेरिडाद्वारा प्रतिपादित उत्तरआधुनिकतावादी सिद्धान्त हो। यो थालनीमा भाषा र साहित्यको अध्ययनका क्रममा पाठको अर्थ विश्लेषणका लागि अपनाइएको सिद्धान्त हो। उनले संरचनावादको जटिल ढाँचालाई चुनौती दिँदै विनिर्माणको अवधारणा प्रस्तुत गरेका हुन् । व्याख्येय सिद्धान्त निकै सन्तुलित र आकर्षक छ। जसका अनुसार सत्य र अर्थ स्थिर छैनन्। तिनीहरू सन्दर्भ र व्याख्याअनुसार बदलिन्छन्। यसले एउटै वस्तु र घटनाको अनेक व्याख्या हुन सक्ने बहुअर्थमा जोड दिन्छ। यही विनिर्माणवादी सिद्धान्तलाई जोड दिँदै विचारक मिसेल फुकोले सत्ता जसको छ, उसैले सत्य र अर्थ निर्माण गर्छ भन्ने धारणा व्यक्त गरेका छन् । अर्थात् जसको हातमा सत्ता छ, सत्यलाई उसैले परिभाषित गर्छ। राज्य, धर्म, शिक्षा वा मिडियाले जनमानसमा सत्यको भ्रम उत्त्पन्न गर्छन्। सत्य, अर्थ र वास्तविकता वस्तुगत नभई भाषिक र शक्तिसँग सम्बन्धित विषय हुन् । वास्तविक अर्थमा सत्य भनेको प्रतिति वा व्यक्तिको मनमा उत्पन्न हुने भ्रम मात्र हो। त्यसैले सत्य खोज्ने होइन, सत्य कसरी निर्माण हुन्छ भनेर बुझ्ने प्रयास गरिन्छ। अर्थको अनिश्चिततालाई देखाउने, पाठमा लुकेको विरोधाभासहरुलाई उजागर गर्ने, द्वन्दात्मक सोचलाई अस्वीकार गर्ने र महान् सिद्धान्तलाई बेवास्ता गर्नेजस्ता विनिर्माणवादका मूलभूत विशेषताहरु रहेका छन् । यो मूलरूपमा परम्परागत अर्थ संरचनालाई भत्काएर नयाँ अर्थ खोज्ने सिद्धान्त हो । वास्तवमा भत्काउनु भन्नाले कुनै कुरा ध्वस्त पार्ने होइन। बरु त्यसको भित्री संरचना, विरोभास र लुकेका अर्थहरू खोज्ने हो । भत्काएर अर्थ निर्माण गर्ने हो । स्वयं ज्याक डेरिडाका विचारमा पाठलाई भत्काउँदा त्यसको अर्थ समाप्त हुँदैन। बरु फेरि अर्थ जन्मन्छ । यही बौद्धिकताका आधारमा विनिर्माणवाद साहित्य समालोचनाका क्षेत्रमा निकै लोकप्रिय पनि बन्यो । विनिर्माणवादी सिद्धान्त साहित्य समालोचनाका क्षेत्रमा स्थापित भएपछि बिस्तारै यसले विचार, दर्शन, समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास र संस्कृतिसम्म फैलँदै उत्तरआधुनिकतावादी मूल सिद्धान्तको स्वरूप लियो। यस सन्दर्भमा विनिर्माणवाद भनेको पुराना सोच, असमानता र जटिल संरचनालाई भत्काएर नयाँ, समान र खुला सामाजिक चेतना निर्माण गर्ने सिद्धान्त हो। उत्तरआधुनिक युगको सुरुवातदेखि नै विनिर्माणवादले अभूतपूर्व चर्चा पाउन थाल्यो। तर सत्य, गतिशील हुन्छ भन्ने यसको सिद्धान्तमा उल्लेख भएजस्तै विनिर्माणवादबारे जनस्तरको बुझाइमा नै गतिशीलता आउन थाल्यो। यसरी विनिर्माणवादको सैद्धान्तिक मान्यता अपभ्रंश हुँदै सामान्य जनस्तरसम्म पुगेर फरक किसिमले कसरी ध्वंसात्मक विचारको निर्माण गरिरहेको छ भनी गम्भीर अध्ययन गरिएको छ। सत्य व्यक्तिको बुझाइमा निर्भर हुन्छ भनी यही सिद्धान्तले बताएको छ। त्यसैले विनिर्माणवादले व्यक्तिको बुझाइमा पारेको प्रभाव र त्यसले सामाजिक व्यवहारमा ल्याएको गम्भीर नकारात्मक असरबारे नयाँ खुलासा गरिएको हो। सत्ता र शक्तिले निर्माण गरेको भ्रमलाई हामी सत्य मान्छौं। वास्तविक सत्य लुकाइएको हुनाले त्यसलाई खोज्नुपर्छ भनिएको छ। यसबाट मूलत व्यक्तिमा सत्य र नियमलाई अस्वीकार गर्ने तथा सत्ताप्रति अविश्वास गर्ने प्रवृत्ति विकास भएको छ। यस सिद्धान्तले सत्ता र शक्तिप्रति आक्राममक हुन र त्यसलाई भत्काउन प्रेरित गर्छ। यसरी निर्माणवादले व्यवहारिक रूपमा व्यक्तिलाई अराजक र आक्रामक बनाएको छ। जित्नेकै पक्षमा लेखिएको इतिहास झुटो हो , आज हामी दृश्यमा जे देखिरहेका छौं, त्यो सत्य नभएर भ्रम हो , जीवनका केही कुरा निश्चित छैनन् , अनि भविष्य पनि अन्योलपूर्ण छ भन्दै निर्माणवादले व्यक्तिलाई जीवनप्रति निराश र निरूद्देश्य बनाएको छ। महाआख्यानको अन्त्य भइसक्यो , महामानवको मृत्यु भइसक्यो, आदर्श हराइसक्यो , शक्ति, सत्ता र विद्वतासमेत बनावटी हो। अब ती कुनैलाई ठूलो मान्यता दिनु पर्दैन भन्ने बुझाइले व्यक्ति हदैसम्म स्वकेन्द्रित बनेको छ । साहित्य समालोचनाका सन्दर्भमा विनिर्माणवाद भनेको परम्परागत अर्थ संरचनालाई भत्काएर त्यसभित्र लुकेको बहुअर्थ र विरोधाभासलाई देखाउने दृष्टिकोण हो। यसभित्र पाठलाई भत्काउनु र त्यसभित्रको विरोधाभास वा नयाँ अर्थ खोज्नु महत्त्वपूर्ण दुई पक्ष लुकेका छन् । यो जटिल बौद्धिक सिद्धान्त हो। सामान्य मानिस त्यस्तो गम्भीरतातिर जाँदैन। सतही ज्ञानमा रमाउने उत्तरआधुनिकतावादको प्रवृत्ति पनि हो। त्यसैले विनिर्माणवाद समाजका हर क्षेत्रमा प्रवेश गरेपछि आम मानिससम्म आएर यसले पुरानोलाई भत्काउनु र नयाँ निर्माण गर्नु भन्ने सामान्य अर्थ प्रक्षेपण गर्न थाल्यो । अनि पुरानोलाई भत्काएर नयाँ निर्माण गर्नुपर्छ भन्ने उत्तरआधुनिक युगको सबैभन्दा लोकप्रिय नारा बन्यो। जहाँ निर्माण शब्द प्रमुख रूपमा आएको जस्तो देखिन्छ । आम मानिसमा नयाँ समाज निर्माणको चाहना पनि प्रबल हुन्छ। यो झट्ट हेर्दा निर्माणवादी सिद्धान्त जस्तो देखिन्छ। तर निर्माण गर्न लागि पहिले भत्काउनुपर्छ। सिद्धान्तलाई व्यवहारिक कार्यरूपमा लाँदाचाहिँ भत्काउने कार्यले प्राथमिकता पाउँछ। निर्माणचाहिँ दोस्रो चरणको कार्य हो। सिद्धान्तले नै पुरानो भत्काएपछि नयाँ राम्रो बनाउन सकिन्छ भनेको छ। आम मानिसहरू यही विश्वव्यापी सिद्धान्तलाई आत्मसात गरेर हिँडेका छन्। भत्काउनु सजिलो प्रक्रिया हो। सयौँ वर्ष लगाएर बनाएका संरचनाहरू एकैछिनमा भत्काउन सकिन्छ। भत्काउने मानसिकताले हेर्दा वस्तुका आवश्यकता, गुण, सौन्दर्य र शक्तिले कुनै प्राथमिकता पाउँदैनन्, त्यतिबेला तिनका दुर्गुण, दोष, कुरूपता र निरर्थकता मात्र देखिन्छन्। जसले भत्काउने नै सिद्धान्त लिएको छ त्यसले कति विध्वंस मच्चाएको छ भन्ने निष्पक्ष दिमागले सजिलै अनुमान गर्न सकिन्छ। अहिलेको डिजिटल युगले सोच गहिर्‍याउने भन्दा बढी प्रतिक्रिया जनाउने बानीको विकास गराएको छ। हामी छिटो प्रतिक्रिया जनाउँछौँ। संसारलाई छिटो परिणाम चाहिएको छ। हामीलाई कामको गतिप्रति चाहिँ चित्त बुझेको छैन। त्यसैले हामी कामको परिणाम दिन नसक्ने प्रणाली भत्काइहाल्ने सोचमा छौँ। भत्काएपछि चाहिँ के बनाउने भन्ने प्रश्नमाथि मौनता छाउँछ। तथापि हामीले के बिगार्यौ भन्ने मूल्याङ्कनतिर कहिल्यै लाग्दैनौँ। निर्मित परिस्थितिप्रति सधैँ असन्तुष्ट भइरहन्छौँ। हाम्रो दिमागबाट भत्काउने मनस्थिति कहिले हट्दैन । किनभने हामी उत्तरआधुनिक युगको यही विचारधारामा प्रशिक्षित भएर हुर्किएका हौँ । हामीले जित्नेका पक्षमा लेखिएको इतिहासको धरोहर भत्काइदियौं । भ्रमलाई सत्य साबित गर्न खोज्ने सत्ता भत्काइदियौं। वर्तमानमा अवरोध सिर्जना गर्ने समाजको नियम, मूल्य र मान्यतालाई भत्काइदियौँ। व्यक्तिलाई आफै स्वतन्त्र हुन नदिएर बन्धनमा राख्ने सम्बन्धहरू पनि भत्काइदियौँ । हामी अझै पनि भत्काएपछि राम्रो बन्छ भन्ने मनस्थितिमा नै छौ। हामी प्रत्येक व्यक्ति उस्तै मनोदशा बोकेर बसेका छौँ । हामी निर्मित परिस्थितिको कहिल्यै मूल्याङ्कन गर्दैनौं। तर त्यसको परिणामबाट अझै धेरै पीडित बनिरहेछौ । अनि आज हामीले निराशा र असन्तुष्टिको ठूलो भारी बोकेका छौ। आजको मान्छेसँग अहम् र व्यक्तिगत स्वार्थ मात्र बचेका छन् । ऊ व्यक्तिगत स्वार्थ पूरा गर्न निष्ठा, नैतिकता, मानवीय मूल्य र आत्मीय सम्बन्धहरू समेत भत्काउन तयार हुन्छ । खोक्रो अहम् प्रदर्शन गर्नकै लागि ऊ सधैँ प्रयत्नशील छ । तत्कालीन समाज कति सुखी र समृद्ध छ भन्ने त्यसले निर्माण गरेको विचार र व्यवहारका आधारमा मापन हुन्छ। आजको समाज विनिर्माणवादी भत्काउने र गन्जागोल सिर्जना गर्ने विचारको मारमा परेको छ। हुन त आजको युग विज्ञान प्रविधिको विकासले भौतिक रूपमा समृद्ध छ। तर मानसिक रूपमा निकै कमजोर भएको छ। सुख अनुभूति गराउन नसक्ने भौतिक उन्नतिको कुनै मूल्य हुँदैन। आजको मान्छे भित्रभित्रै असन्तुष्टि, निराशा, पीडा, कुण्ठा र आक्रोश बोकेर हिँडेको छ। सानासाना विषयमा पनि छिटै उत्तेजित हुने र आक्रामक प्रतिक्रिया देखाउने आजका मानिसको मूल प्रवृत्ति हो। त्यसैले अहिले संसारभर युद्धको धुवाँ मडारिँदै गरेको तथ्य छिपेको छैन । अहिले मानवीय मूल्य सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। विचार र दर्शनले त मानवीय मूल्यलाई समृद्ध बनाउनुपर्छ । यसले सत्ताका लागि पनि विरोधी पक्षलाई भत्काऊ र आफ्नो शक्ति स्थापना गर भन्ने विचार दिन्छ। आज जसले भत्काउँछ भोलि ऊ आफै भत्किन तयार हुनुपर्छ भन्ने तथ्यचाहिँ सबैभन्दा त्रासद रहेको भनी औल्याइएको छ।आज विनिर्माणवादको आफ्नै अवधारणाअनुसार ज्ञान, शक्ति र क्षमता विकेन्द्रित बनेको छ। जसका कारण कसैले कल्पना नगरेका व्यक्तिले आफ्नो अथाह क्षमता प्रकट गर्ने मौका पाउँछ । हामी सामाजिक सञ्जालमा हिजोसम्म कसैले नचिनेको व्यक्ति अचानक भाइरल भएको अवस्थासँग परिचित छौँ । संसार भत्काउने कार्यका लागि पनि त्यस्तै अद्भुत क्षमता भएको व्यक्ति आउन सक्ने त्रास व्यक्त गरिएको हो। जसले शक्तिशाली सफ्टवेयर प्रणालीहरूलाई ह्याक गरेर आफ्नो नियन्त्रणमा लिने सम्भावना रहन्छ । सामान्य मुलुकको एक सामान्य व्यक्तिले शक्तिशाली हतियार प्रणालीलाई निस्तेज बनाइदिने मेसिनको आविष्कार गर्न सक्छ । प्राणघातक भाइरस जस्तै जैविक अस्त्र छाडेर मानव जीवनको अस्तित्वलाई संकटमा पार्न सक्छ। अहिलेको विश्वले ध्वंसात्मक विचार निर्माण गर्नुको त्रासद परिणामप्रति सचेत गराइएको छ । अब समाजलाई तोड्ने होइन, जोड्ने विचारको खाँचो छ। मानवमा सत्य, निष्ठा, नैतिकता , आपसी विश्वास र सहयोगको भावना विकास गराइनु प्रथम आवश्यकताको विषय हो । मानवको सुख र सन्तुष्टिका लागि संसारको ध्यान केन्द्रित गरिनुपर्छ। शक्ति राष्ट्रहरूले युद्ध र हतियारको होड छोडेर मानवतालाई समृद्ध बनाउने कार्यमा लगानी बढाउनु पर्छ । जहाँ कुनै मानिसभित्र द्वेष ,आक्रोश , बैमनस्यता जस्ता नकारात्मक भावना उठ्न नपाउन् । समाज, राष्ट्र र व्यक्तिमा कुनै प्रकारको दुश्मनी बाँकी नरहोस् । विज्ञान र प्रविधिले समृद्ध बनाउँदै लागेको संसारलाई हाँक्ने त्यस्तै विचारधारा निर्माण गरिनुपर्ने दर्शनशास्त्रीहरूले औल्याएका छन्। अब समालोचना र साहित्यले पनि नयाँ युगनिर्माणको माग पूरा गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता देखाइएको छ । The post ध्वंसात्मक विचार निर्माणमा विनिर्माणवादको भूमिका appeared first on साहित्यपोस्ट.