डेम्बेलेले जिते ‘द बेस्ट फिफा मेन्स प्लेयर’को अवार्ड - kendrabindu.com
काठमाडौं । यस वर्षको ‘द बेस्ट फिफा मेन्स प्लेयर’को अवार्ड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका ओस्मान डेम्बेलेले जितेका छन् । कतारको दोहामा मंगलवार राति सम्पन्न विशेष समारोहमा डेम्बेलेले रियल म्याड्रिडका स्टारर किलियन एम्बाप्पे र बार्सिलोनाका युवा स्टाररर लामिन यामाललाई पछि पारेर उक्त अवार्ड जितेका हुन् । डेम्बेलेलाई यो अवार्ड सन् २०२४ को अगस्ट ११ देखि सन् २०२५ को अगस्ट २ सम्मको प्रदर्शनलाई आधार मानेर फिफामा आवद्ध २११ राष्ट्रका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकहरूको मतबाट प्रदान गरिएको हो । अघिल्लो वर्ष पीएसजीले इतिहासकै पहिलो युरोपियन च्याम्पियन्स लिग जित्दा डेम्बेलेले निर्णायक भूमिका खेलेका थिए । यसअघि सेप्टेम्बरमै बालोन डि’ओर जितिसकेका डेम्बेलेले यो दोस्रो व्यक्तिगत सम्मानसँगै आफ्नो करियरको ‘डबल’ बेष्ट अवार्ड पूरा गरेका छन् । चोटग्रस्त हुँदै बार्सिलोना छाडेर पीएसजीमा आवद्ध भएका डेम्बेलेले २०२४–२५ को सिजनमा ५३ खेलमा ३५ गोल र १६ असिस्ट प्रदान गरेका थिए । उनले क्लबलाई ‘फ्रेन्च लिग वान, कप डे फ्रान्स र ट्रफे डे च्याम्पियन्स’ जिताएर घरेलु ट्रेबल नै पूरा गरेका थिए । यसबाहेक, उनले फिफा क्लब विश्वकपको फाइनलसम्म पीएसजीलाई पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । लिग १ मा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका डेम्बेले च्याम्पियन्स लिग र लिग १ दुवैको ‘प्लेयर अफ द सिजन’ पनि घोषित भएका थिए । अझ रोचक तथ्य त के छ भने लियोनेल मेसीले आफ्नो पहिलो मत लामिन यमाललाई नदिएर डेम्बेलेलाई दिएका थिए । यस्तै, दोस्रोमा एम्बाप्पे र तेस्रोमा मात्र लामिनलाई भोट दिएका थिए । महिलातर्फ बार्सिलोनाकी आइताना बोनमती ३ पटक ‘द बेस्ट फिफा वुमेन्स प्लेयर’ जितेर इतिहास नै रच्न सफल भएकी छन् । स्पेनकी २७ वर्षीया मिडफिल्डर आइताना बोनमातीले अघिल्लो सिजन बार्सिलोनालाई ‘ला–लिगा फेमेनिनो, कोपा डे ला रेइना र युइएफए विमेन्स च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यस्तै, राष्ट्रिय टोली स्पेनलाई पनि बोनमतीले युरो २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुर्याएकी थिइन् । यो सिजन उनले ४५ खेलमा २२ गोल र १८ असिस्टसहित बार्सिलोनालाई अजेय नै बनाइन् । स्पेनका लागि पनि उनले मिडफिल्डबाट टोलीलाई नियन्त्रण गर्दै महत्वपूर्ण जितहरू दिलाइन् । यसअघि पनि बालोन डि’ओर जितिसकेकी बोनमतीले यो अवार्डसँगै महिलातर्फको फुटबलमा आफ्नो वर्चस्व प्रमाणित गरेकी छिन् ।