१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोड्ने चेतावनी - ehimalayatimes.com
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी उहाँले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभएको छ । करिब सात सय २३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो तर पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशतमात्र छ । मन्त्रालयका अनुसार हाल सिँचाइतर्फ राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन, भौतिक पूर्वाधारतर्फ तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल निर्माणका आयोजना अलपत्र अवस्थामा छन् । लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब विस्तृत रूपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महŒवको पुल निर्माण यथास्थितिमा राख्न सक्दैनौं, चाँडै निकास दिन्छौं ।’ स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्नुपर्ने माग गरिएको थियो । निर्माण व्यवसायीतर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये आठवटा सकिएको छ भने बाँकी ११ मध्ये दुर्ईवटाको बिमसम्म (गर्डर) हालिएको छ । छवटाको जग हालिएको छ भने तीनवटाको जग हाल्न बाँकी रहेको छ । त्यसैगरी मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका-२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गर्नुभएको थियो । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गर्नुभयो । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतको सहभागिता रहेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । मन्त्री घिसिङले आफ्नो नियुक्तिसँगै लामो समयदेखि काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्ने चेतावनी दिनुभएको थियो । सोहीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयले त्यस्ता आयोजनाको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । तीनै मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री घिसिङले सचिव तथा विभागीय प्रमुखहरूलाई काम नभएका आयोजनाको सूची तत्काल तयार पारेर पेश गर्न निर्देशन दिनुभएको थियो । विभागीय मन्त्रालयका सचिव र आयोजना प्रमुखको बैठकमा उहाँले भन्नुभएको थियो, ‘अब कसैको अनुहार हेरेर हुँदैन, काम नगर्ने निर्माण व्यवसायीका कारण आयोजनालाई अलपत्र राख्न सकिँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्यांकन गरी तत्काल सूची पेश गर्नुहोस् । ‘निर्णय नगरी काम अघि बढ्दैन, त्यसैले हामी निर्णय गर्छौं, अलपत्र बनेका आयोजनाको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्छ । आयोजनालाई यसरी अलपत्र पारेर राख्न पाइँदैन ।’ तोकिएको समय र गुणस्तरमा आयोजना निर्माण सम्पन्न नहुँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको र नागरिकले पनि लाभ पाउनबाट वञ्चित भएको मन्त्री घिसिङको भनाइ थियो । मन्त्रालयका अनुसार हाल सिँचाइतर्फ राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन, भौतिक पूर्वाधारतर्फ तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल निर्माणका आयोजना अलपत्र अवस्थामा छन् । तथापि मन्त्री घिसिङको कदमप्रति निर्माण व्यवसायीले भने असन्तुष्टि प्रकट गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलले उहाँलाई भेटेरै असन्तुष्टि जनाएको हो ।