Redirecting...

 क्लासिक कथा : मोती हुन नसकेको आँसु - sahityapost.com

 क्लासिक कथा : मोती हुन नसकेको आँसु - sahityapost.com
Source: shpt

“आमा, हजूरले लाएको मालाका सेता गेडाहरू रूखमा फल्दछन् ?” – भुन्टे प्रश्न गर्छ । उनी हाँस्तै जवाफ दिन्छिन्- “धत् ! रूखमा फल्दैन, माछाको भुँडीमा फल्छन् ।” “माछाको भुँडीमा !” छक्क पर्छ भुन्टे, अनि उनको जवाफलाई प्रश्न बनाएर सोच्छ । यस्तै छ यो भुन्टे ! पहाडबाट शहर पसेको तीन महीना भइसक्यो, अझ शहरिया हुन सकेको छैन । जे देख्यो त्यसको विषयमा सोध्छ, जानी सकेर झन् छक्क पर्छ । पाठशालाको छात्रलाई पढाए जस्तो उनी त्यसलाई बुझाइदिन्छिन्, “समुद्रमा कत्ला नभएको सीपी भन्ने माछा हुन्छ, चिप्ले कीरा जस्तै । त्यसले आहारसँग बालुवाका खस्रा कनिकाहरू निल्छ । त्यसको थलथले भुँडीमा पानीसँग निलेको बालुवाले घोच्न थालेपछि आँसु जस्तो सेतो पदार्थ निकाल्छ । धेरै दिनपछि उसको भुँडीमा जमेको यो सेतो पानी मोती हुन्छ । कहिलेकाहीं सीपी माछाले आहारसँग जुका जस्तो कीरा निल्छ । कीरा भुँडीभित्र पसेपछि खोस्रिन थाल्छ अनि सीपीले पानी निकाल्छ । यस्तो पानी जुकाको वरिपरि घेरो लाग्छ, जुका भुँडीमा नै मर्छ । सीपीको पानी चाहिँ जमेर मोती हुन्छ । यस्तो मोती सकली हुन्छ, धेरै दाम हालेर किन्नु पर्छ ।” अलि घिनाए जस्तो गरेर भुन्टे भन्छ, “उसो भए हजूरले लाएको माला जुकाको चिहान हो ? माछाको आँसु हो ? !” उनी झस्किन्छिन् ! यो अबोध नोकरले आज उनको पाप्रा बसिसकेको घाउलाई कोट्याइदियो ! हो त, उनले लाएको बहुमूल्य मोतीको माला पनि त कसैको चिहान जस्तै भइसक्यो । माला मात्र किन….? उनी आफै पनि त चिहानै भइसकिन्, आफ्ना कोमल सपनाहरू साकार हुन नसकेर जमेको चिहान । भावना र मगज नभएको जाबो सीपी रोइदिँदा बहुमूल्य मोती जन्मन्छ, तर भावना र बुद्धि भएको मान्छेको आँसु त्यसै खेर जान्छ । एउटा कीराको पानी जति पनि छैन उसको आँसुको दाम ! धिक्कार होस् मान्छेको जुनी ! धेरै दिन अघि मोती किन्न जाँदा उनीसित परिचित सुन्दर युवा काश्मिरी पसलेले भनेथ्यो, “तपाईं सधैँ मोती मात्र किन्नु हुन्छ, मोती त आँसुको प्रतीक मानिन्छ है !” उनो फिस्स हाँसिथिन् । कस्तो हुस्सु पसले, पसलमा आएको ग्राहकलाई पनि रित्तै फर्काउन खोज्ने ! के पसलेले समेत दया गर्न थाल्यो त उनलाई ? त्यति लुब्धो भइसक्यो त उनको व्यक्तित्व ? मोती पनि उनले थोरै थुपारेकी छन् र ! सकली मोती, सीड पर्ल, कलचर्ड पल, कति हो कति ! आज यतिका वर्षपछि यो बालक नोकरले नजानीकन उनको घाउ बेसरी कोपरिदियो । उनका निम्ति त मोती मात्र किन, जीवनको प्रत्येक क्षण आँसुको प्रतीक भइसक्यो । रुनेले रोइरहनु पर्छ भनेर जान्दाजान्दै पनि मान्छे हाँस्ने चेष्टा गर्न सक्तैन, बबुरो मान्छे, लुब्धो मान्छे ! आँसु साँचेर राख्न सक्नेले त नूनको खानी जस्तो खरो हुन सक्नु पर्छ क्या र ! भुन्टेलाई उनी सोध्छिन्, “किन आइस् हैं तँ यो मदेशको गर्मीमा ? पहाडको मकै-कोदो र मदेशको मासु-भात ! पहाडको मकै-कोदोले जित्छ नि !” भुन्टेको मुख मायालाग्दो देखिन्छ, ऊ भन्छ, “पहाडमा त नून किन्ने पैसासम्म जुट्दैन अनि मदेश नपसी कसो गर्ने त आमा ?” उनी फेरि गम्न थाल्छिन्- निरर्थक अर्को भल आँसु, भुन्टे जस्ता मदेश झर्ने असंख्य बालकहरूको आँसु, मोती हुन नपाएको आँसु । भुन्टेलाई गिज्याउँदै उनी भन्छिन्, “नून किन्ने पैसा जम्मा भएपछि नभाग्नु नि !” साँच्चिलो हुँदै भन्छ भुन्टे, “यस्तो राम्रो घर छोडेर कहाँ भाग्थें र, जान्न अब कतै !” चिल्लो घस्न सिकिसक्यो यसले पनि । उनलाई थाह छ चैत लागेपछि भुन्टे पहाड फर्किन्छ, भुन्टे पनि जान्दछ– गर्मी चढेपछि ऊ घर फर्किन्छ मदेशको कोसेली बोकेर । तैपनि मालिकनी-नोकर दुवैले नजाने कुरामा पत्यार गरेका छन् । पत्यार गर्नु हुँदैन भनेर जान्दा जान्दै पनि पत्यार गरिन्छ, ठगिन्छ, फेरि पत्यार गरिन्छ । बाँचिरहने सजिलो तरीका ! भुन्टे भन्छ, “हाम्रो पनि तीन मुरी धान हुने खेत थियो अरे तर बाबु मरेपछि रिन तिर्न नसक्दा साहूले लगिदिएछ ।” कस्तो तटस्थ भएर भन्छ भुन्टे ! उनको जमीन होइन अरू कसैको जमीन खोसिए जस्तो ! खोसिँदा-खोसिँदा, सहँदा-सहँदा बानी बसिसकेछ यति कलिलो उमेरमा नै । पौष्टिक आहारको कमीले यसको नसाको रगत पनि चिसिएर पानी भइसकेछ । कति आइन्सटाइन्, कति भिन्चो, कति शेक्सपियर, कति खुराना जन्मन्छन् होलान् हाम्रो पहाडमा तैपनि विश्व प्रसिद्ध हुनुअघि नै यिनको जोश हराउँछ-पौष्टिक आहारको कमीले, प्रतिभा मौलाउने वातावरण नपाएर, कारण कति छन् कति ! हाम्रा मुनि-हरूले भनिदिए – “भौतिक सम्पन्नता नखोज, यसले स्वर्गको ढोका थुन्छ ।” न भौतिक सम्पन्नता छ न स्वर्गको ढोका खुल्छ, दुवैतिर शून्य मात्र हात पर्छ । भुन्टेकी विधवी आमा पनि त आँसुको खोलो बगाउँछे होली । तर त्यो आँसु एउटा मान्छेको निम्ति पनि मोती हुन सक्तैन ऽ यस्ता थुप्रै आँसु बगेका छन् यो पृथ्वीमा । हिउँद बित्छ, चैतको उत्ताउलो हावा र घामले विराटनगरको वातावरणमा वसन्त होइन निठुरी गर्मीको सूचना दिन थालेपछि भुन्टे पहाड फर्किन्छ । नूनको पोको, साबुनको चक्की र यस्तै खत्र्याक खुत्रुकको पोको बोकेर ऊ उकालो चढ्छ, भौगोलिक उकालो-जीवन स्तरको उकालो चढ्ने दिन त उसको जीवनमा कहिले आउँछ-आउँदैन । जाने दिनमा उनलाई ढोगिदिँदै भुन्टे आँसु पुच्छ । उसलाई माया गर्दै उनी भन्छिन्, “अर्को साल मदेश झरिस् भने यहीं आउनु है ?” भुन्टे टाउको मात्र हल्लाउँछ बोल्न सक्तैन । यी भुन्टेहरूको आँसु जमेर मोती हुन सकेको दिन पृथ्वीका भुँडेहरूको भुँडी सेप्रिन सक्ला ? त्यति बेलासम्म यो भुन्टे पनि हुँदैन, उनी पनि हुँदिनन् । उनीहरूको आँसु खेर गएको गएकै हुन्छ । आँसु साँचेर उनी किन नूनको खानी जस्तो खरो हुन सकिरहेकी छैनन् ? मनमनै उनी आफ्नो ईश्वरसँग भन्छिन्, “अर्को जुनीमा म सीपी माछा भएर जन्मिन पाऊँ है भगवान, तपाईं चाहिँ स्वास्नी मान्छे भएर जन्मनु होला ।” (देवकुमारी थापाको कथासंग्र ‘भोक तृप्ति’बाट) The post क्लासिक कथा : मोती हुन नसकेको आँसु appeared first on साहित्यपोस्ट.