चेतन घिमिरे एपिएफको मुख्य प्रशिक्षक - ehimalayatimes.com
काठमाडौं । विभागीय फुटबल टोली एपिएफ क्लबले आसन्न एफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि अनुभवी प्रशिक्षक चेतन घिमिरेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । एएफसी ‘ए’ लाइसेन्स प्राप्त घिमिरे यसअघि नेपाल पुलिस क्लबको पुरुष टिमका प्रमुख प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । घिमिरेको प्रशिक्षण यात्रा केवल क्लबस्तरमा सीमित छैन । उहाँ राष्ट्रिय पुरुष टिममा विदेशी मुख्य प्रशिक्षक अल्र्बेटो भिन्सेन्जो एनेस र स्थानीय प्रशिक्षक नवीन न्यौपानेका सहायक प्रशिक्षकका रूपमा समेत कार्य गरिसक्नुभएको छ । प्रशिक्षकका रूपमा उहाँको अनुभव र रणनीतिक दृष्टिकोणले एपिएफ महिला टोलीलाई अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । एफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत एपिएफ समूह ‘बी’ मा परेको छ । यस समूहमा थाइल्याण्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरेबियाको अल नासर रहेका छन् । समूह ‘बी’ का सम्पूर्ण खेल उज्वेकिस्तानमा हुनेछन् । एपिएफले आफ्नो अभियान अगष्ट २५ मा घरेलु टोली पिएफसी नासाफविरुद्ध खेल्दै सुरु गर्नेछ । त्यसपछि अगष्ट २८ मा थाइल्याण्डको टोलीसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल अगष्ट ३१ मा साउदी अरेबियाको अल नासरसँग हुनेछ । पछिल्लो संस्करणमा पनि एपिएफ प्रारम्भिक छनोटमा सहभागी भएको थियो । यद्यपि, टोलीले त्यसबेला समूह चरण पार गर्न सकेन । यसपटक प्रशिक्षकको नयाँ व्यवस्थापन र केही महत्वपूर्ण खेलाडीको आगमनले टोलीलाई बलियो बनाउने विश्वास गरिएको छ । महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा वरीयताका आधारमा तल्लो स्थानमा रहेका १९ टोलीले सहभागिता जनाउनेछन् । ती टोलीहरूलाई पाँच समूहमा विभाजन गरिएको छ । चार समूहमा चार टोली र एक समूहमा तीन टोली छन् । प्रत्येक समूहका विजेतामात्र मुख्य चरणका लागि छनोट हुनेछन् । एफसी च्याम्पियन्स लिगको तयारी स्वरूप एपिएफले टोलीमा केही नयाँ अनुहारहरू पनि समावेश गरेको छ । प्रतिद्वन्द्वी विभागीय टोली नेपाल पुलिस क्लबबाट समीक्षा घिमिरे र त्रिभुवन आर्मी क्लबबाट विमला चौधरीलाई अनुबन्ध गरिएको छ । यी दुवै खेलाडी अनुभवी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरिसकेका नाम हुन् । उहाँहरूको समावेशले टोलीको मध्यपंक्ति र आक्रमणमा थप गहिराइ ल्याउने अपेक्षा गरिएको छ । प्रशिक्षक चेतन घिमिरेको नेतृत्वमा रहेको एपिएफ महिला टोलीले यसपटकको च्याम्पियन्स लिगमा उल्लेखनीय प्रदर्शन गर्ने विश्वास लिइएको छ । अनुभवी प्रशिक्षक, नयाँ खेलाडी र विगतको अनुभवलाई आधार मानेर एपिएफले मुख्य प्रतियोगितामा स्थान बनाउने लक्ष्य राखेको छ ।