विश्व घटना : अमेरिकी शिकारीलाई फिल्म हेर्ने सजाय ! - www.nepaliheadline.com
काठमाडौं– आज १७ डिसेम्बर। विश्व इतिहासका यस्ता घटना, जसले स्मरण दिलाउँछन् आजको दिनलाई। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९०३- राइट दाजुभाइको पहिलो जहाजको सफल उडान सन् १९०३ मा अमेरिकाका राइट दाजुभाइले निर्माण गरेको जहाजको पहिलो सफल उडान आजकै दिन भएको थियो। यो घटना हवाई जहाज क्रान्तिका लागि उदाहरण बनेको थियो। तीनवटा पूर्ण आकारका ग्लाइडरको निर्माण र परीक्षणपछि अमेरिकाको नर्थ क्यारोलिनास्थित किटी हकमा पहिलो सफल उडान गरिएको थियो। १२ सेकेन्डको उडानमा उनीहरूको जहाज १२ मिटरमाथिसम्म उडेको थियो। त्यसको केही समयपछि ५९ सेकेन्डमा २५५.६ मिटरसम्म उडान भर्न सफलता मिलेको थियो। – सन् १७९०- एज्टेक क्यालेन्डर पत्थरको खोजी सन् १७९० मा आजकै दिन मेक्सिकोको राजधानी मेक्सिको सिटीमा एज्टेक क्यालेन्डर पत्थर फेला परेको थियो। यसलाई पाँच युगको पत्थर मानिन्छ। – सन् २०१०- संसार झस्काउने आत्मदाह सन् २०१० मा आजकै दिन ट्युनिसियाका सडक व्यवसायी मोहम्मद बौअजिजीले गरेको आत्मदाहले संसारलाई नै झस्काएको थियो। मुलुकको आर्थिक अवस्थाको विरोधमा उनले सडकमा निस्किएर आत्मदाह गरेका थिए। १८ दिनपछि २६ वर्षको उमेरमा उनको उपचार क्रममा मृत्यु भयो। उनको मृत्युले ट्युनिसिया र समग्र अरब संसारमा क्रान्तिका लागि उत्प्रेरकको भूमिका वहन गरेको थियो। – सन् २०१०- अरब स्प्रिङको शुरुवात अरब क्षेत्रका अधिकांश मुलुकमा आजकै दिन विरोध प्रदर्शन शुरु भएको थियो। ट्युनिसियाका सडक व्यवसायी मोहम्मद बौअजिजीको आत्मदाहपछि अरब मुलुकहरूमा विरोध प्रदर्शन शुरु भएको थियो। मोहम्मदको आत्मदाहका कारण ट्युनिसियाका तत्कालीन राष्ट्रपति जिन अल आबिदिन बेन अलीले राजीनामा दिनुपरेको थियो। – सन् २०१७- चिनियाँ कलाकारको पेन्टिङको मूल्य १४ करोड डलर सन् २०१७ मा आजकै दिन चिनियाँ कलाकार क्वि बाइसीको पेन्टिङ १४ करोड अमेरिकी डलर (९३ करोड १५ लाख युआन)मा बिक्री भएको थियो। उनको रंग-ब्रस पेन्टिङले चिनियाँ पेन्टिङको इतिहासमै सर्वाधिक मूल्य पाएको रेकर्ड बनाएको थियो। – सन् २०१८- अमेरिकी शिकारीलाई ‘ब्याम्बी’ फिल्म हेर्ने सजाय अमेरिकाका एक शिकारीलाई आजकै दिन महिनामा एकपटक ‘ब्याम्बी’ नामक सिनेमा हेर्ने सजाय सुनाइएको थियो। सयौं हरिणको शिकार गरेको अभियोग प्रमाणित भएपछि उनलाई एक वर्षको जेल सजाय तोकिएको थियो। र, त्यस क्रममा महिनामा एकपटक उक्त फिल्म हेर्नैपर्ने सजाय थपिएको थियो। सन् १९४२ मा बनेको उक्त फिल्ममा हरिणको ‘ब्याम्बी’ नामक बच्चाले जंगलमा सिकेको दोस्ती, प्रेम र आफ्ना प्रियजनको रक्षा गर्ने तरिकासम्बन्धी कथा समेटिएको छ। अर्थात्, फिल्मले जंगलमा पनि जीवन हुन्छ भन्ने कथा पस्केको छ। – सन् २०१८- धर्तिबाट सबैभन्दा टाढाको वस्तु पहिचान सन् २०१८ मा खगोलशास्त्रीहरूले हाम्रो सौर्य मण्डलको सबैभन्दा टाढाको वस्तु पहिचान गरेका थिए। र, त्यसलाई ‘२०१८ भीजी१८ (उपनाम फारआउट)’ नाम दिइएको थियो। उक्त वस्तु धर्तिबाट सूर्यभन्दा १२० गुणा टाढा अवस्थित छ। – सन् २०२०- चन्द्रमाको ढुंगो चीनमा सन् २०२० मा आजकै दिन चीनको ‘चेन्ज-५’ मिसनले धर्तिमा सफलतापूर्वक चन्द्रमाको ढुंगो लिएर आएको थियो। चन्द्रमाको सतहबारे थप जानकारी हासिल गर्न उक्त ढुंगो उपयोगी सावित भएको छ। चन्द्रमाको ढुंगो लिएर आएको अन्तरिक्ष यान मंगोलियाको सिजिवाङ ब्यानरमा अवतरण भएको थियो। – सन् २०२१- खाडलमा भेटियो १ हजार खुट्टा भएको जीव सन् २०२१ मा अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा गरिएको एक उत्खननमा १ हजार खुट्टा भएको मिलिपेड (युमिलिपेस पर्सेफोन) फेला परेको थियो। त्यससम्बन्धी रिपोर्ट ‘साइन्टिफिक रिपोर्ट्स’ नामक जर्नलमा प्रकाशित भएको थियो। – सन् २०२४- मस्कोमा घुसेर युक्रेनले हत्या गर्यो रुसी जर्नेल सन् २०२४ मा आजकै दिन रुसको राजधानी मस्कोसम्मै घुसेर युक्रेनले रुसी सेनाका जर्नेल इगोर किरिलोभको हत्या गरेको थियो। उनी रुसको केमिकल हतियार विभागका प्रमुख थिए। एक विद्युतीय स्कुटरमा राखिएको बम विष्फोट गराई इगोरको हत्या गरिएको थियो। र, घटनाको जिम्मेवारी युक्रेनले लिएको थियो।