भिरमहको उत्पादनमा गिरावट - ehimalayatimes.com
बागलुङ । बागलुङको माथिल्लो क्षेत्रका भिर पहरामा हरेक वर्ष स्थानीयले भिरमह सिकार गर्छन् । सिंगो गाउँलेनै भिरमा पुगेर डोरीको सहारामा सयौँ मिटर अग्लो भिरबाट मह काड्ने प्रचलननै हो । गाउँ नजिकको भिरमा दशकौँ अगाडिदेखि स्थानीयले मह निकाल्ने र समान रुपमा बाढ्ने गर्छन् । कतिले त मह विक्री गरेर आम्दानीसमेत गर्ने गर्छन् । खासगरी जिल्लाको निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र ताराखोलाका विभिन्न स्थानमा रहेको भिरमा मह सिकार हुने गर्छ । भिरमह सिकारका लागि गलकोट नगरपालिका–१० रमुवा बढी प्रख्यात मानिन्छ । यस वर्ष रमुवासहित जिल्लाभर भिरमह उत्पादनमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशतले उत्पादनमा गिरावट आएको रमुवाका चक्र रानाले बताउनुभयो । रानाका अनुसार अघिल्लो वर्ष दुई हजार लिटरभन्दा बढी मह उत्पादन भएकोमा यस वर्ष ५०० लिटर मात्रै उत्पादन भएको छ । अघिल्लो समय ठिक सयमा वर्षा हुँदा उत्पादन बढी भएको भन्दै यस वर्ष मौसम अनुकुल नहुँदा घटेको रानाले बताउनुभयो । स्थानीयले रमुवाको ठूलोभिर, तेत्रेभिर, तीनघारे भिर, नौकोस भिर, उजेलीको भिर लगायतका भिरहरुमा मह सिकार गर्ने उहाँको भनाइ छ । भिरमह औषधिका रुपमा प्रयोग हुने हुँदा प्रति किलो रु दुई हजार पाँच सयमा विक्री हुने राना बताउनुहुन्छ । “यस वर्ष भिरमह निकै कम उत्पादन भयो, यो उत्पादन अहिलेसम्मकै कम हो जस्तो लाग्छ, यहिलेसम्म यति कम उत्पादन भएको थिएन, वर्ष बढी झरी परेको होकी क्या हो, गोलामा महनै थिएन,” रानाले भन्नुभयो – “गत वर्षको तुलनामा त यस वर्ष एकदमै कम उत्पादन भयो, भिरमह निकाल्नका लागि गाउँलेहरु जम्मा भएर जाने गर्छौँ, यसपाली त धेरै दुःख भयो, धेरै महनै रैनछ ।” ताराखोला गाउँपालिका–५ र्कोे जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरबाट पनि मह कम उत्पादन भएको छ । जुल्फे सामुदायिक वनबाट गत वर्ष दुई सय साठी लिटर मह काढिएकोमा यस वर्ष डेढ सय लिटर मात्रै मह काढिएको जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले जानकारी दिनुभयो । भिरबाट धेरै मात्रामा मह निकालिएमा बजारमा पु¥याएर विक्री गर्ने गरिएको उहाँको भनाइ छ । भिरमहको सिकारमा स्थानीय ६० जना सहभागी भएको छ । उहाँले भन्नुभयो,“अघिल्लो वर्षहरुमा उत्पादन राम्रै हुन्थ्यो, सिकार गर्न जाने सबैले थोरै धेरै बाँडेरै खान्थ्यो, अलि बढि भएको विक्री हुन्थ्यो, यसपाली अलि कम उत्पादन भयो, जलवायु परिवर्तनको असरले गर्दा हो या किन हो उत्पादन ह्वात्तै घट्यो ।” यो पनि पढ्नुहोस्बिर्तामोडका उपमेयर संग्रौलाको विवादास्पद टिप्पणी, पक्षविपक्षमा राजनीति दल