Redirecting...

‘लामो समय नेतृत्वमा बसेका पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन हुन सक्दैन’ - nepalnews.com

‘लामो समय नेतृत्वमा बसेका पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन हुन सक्दैन’ - nepalnews.com
Source: NPNW

काठमाडौँ। विभिन्न राजनीतिक दलका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरू तथा केही स्वतन्त्र युवाहरूले लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाएका मुख्य पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन हुन नसक्ने बताएका छन्। २८ जना युवाहरूले एक आह्वानपत्र जारी गर्दै आआफ्ना दलको पुनर्गठनमा ढिलो नगर्न आह्वान गरेका छन्। ‘राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुनै सक्दैन। त्यसैले आआफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ,’ आह्वानपत्रमा भनिएको छ। राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध सबैतिरबाट आवाज उठिरहेको सन्दर्भमा जेन-जी आन्दोलनले व्यापक समर्थन पाएको र पार्टी तथा राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको पनि उनीहरूको निष्कर्ष छ। ‘लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीलाई यसले गहिरोसँग प्रभावित पारेको छ। त्यसैले जेन-जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ,’ उनीहरूको आह्वानमा भनिएको छ। विभिन्न बहाना गरेर नेतृत्वमा रहेकाले छलछाम गरिरहनु, आन्दोलनको सन्देश नसुन्नु वा नबुझ्नुजस्ता क्रियाकलापले मुलुकलाई अझै ठूलो दुर्घटनातर्फ धकेल्न सक्नेतर्फ पनि उनीहरूले सचेत गराएका छन्। ‘आज हामी अस्थिरताका ठूला चुनौती र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाका बीचमा छौँ। राजनीतिक दलहरूमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरूको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो। दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलवाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो,’ आह्वानपत्रमा उल्लेख छ। २८ युवा नेताहरूको आह्वान