मेसीबिना मियामीको फराकिलो हार - ehimalayatimes.com
मियामी । स्टार खेलाडी लियोनल मेसीबिना नै मैदानमा ओर्लिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)को आफ्नो पछिल्लो खेलमा नमिठो हार भोगेको छ । सोमबार बिहान सम्पन्न खेलमा ओर्लान्डो सिटीले इन्टर मियामीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको हो । स्वास्थ्य समस्याका कारण अर्जेन्टिनी स्टार मेसी उक्त खेलमा सहभागी हुनुभएन । खेलको प्रारम्भदेखि नै ओर्लान्डो सिटीले इन्टर मियामीलाई दबाबमा राखेको थियो । जितसँगै ओर्लान्डो सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । खेल सुरु भएको दोस्रो मिनेटमै लुइस मुरियलले अर्लान्डो सिटीका लागि पहिलो गोल गर्नुभएको थियो । तर, त्यो अग्रता लामो समय टिक्न सकेन । पाँचौँ मिनेटमै इन्टर मियामीका यानिक ब्राइटले जवाफी गोल गर्दै खेललाई एक-एकको बराबरीमा पुर्याउनुभयो । ब्राइटको गोलपछि पहिलो हाफको खेल बराबरीमा सकिएको थियो । तर, खेलको दोस्रो हाफमा इन्टर मियामीले लय गुमाएको थियो । ५०औँ मिनेटमा अर्लान्डो सिटीका लागि लुइसले नै व्यक्तिगत दोस्रो गोल गर्नुभएको थियो । यसैगरी, निर्धारित समयको ५८औँ मिनेटमा मार्टिन ओजेडाले टोलीका लागि तेस्रो गोल थप्नुभयो । निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि अर्लान्डो सिटीका लागि मार्को पासालिचले चौथो गोल गर्नुभएको थियो । अर्लान्डो सिटी २६ खेलबाट ४४ अंक बटुल्दै तालिकाको चौथो स्थानमा आसिन छ । तालिकाको छैटौँ स्थानमा आसिन इन्टर मियामीले भने २३ खेलबाट ४२ अंक बटुलेको छ । २६ खेलबाट ५१ अंक जोडेको फिलाडेलफिया तालिकाको पहिलो स्थानमा छ । अब मियामीले शनिबार लस एञ्जलस ग्यालेक्सीको आतिथ्य गर्नेछ भने ओरल्याण्डो सिटीले स्पोर्टिङ कान्सास सिटीको सामना गर्नेछ । एजेन्सी