Redirecting...

भूकम्पको १० वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर - www.pardafas.com

भूकम्पको १० वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर - www.pardafas.com
Source: pfds

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ। यो वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्त्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो। पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए। गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनले बताए। इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन्। कुमारी घरमा १० वर्षअघिको भूकम्पले क्षति पुर्‍याएको थियो। भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएको अहिले पनि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजै छ। देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो। कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे। तीनवटै निकायले एक-एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुननिर्माणमा चासो देखाएका छैनन्। सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको शुरूआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्य बताउँछन्। त्यसपछि वेलावेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन। करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ। जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको उनले बताए। भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ। ‘भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो, भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन’, उनले भने। जीवित देवीका रूपमा पुजिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन। त्यसबेला महानगरपालिका-२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम शुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो। पुनर्निर्माणका लागि तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसवेला पनि काम शुरू हुन सकेन। पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्त्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीय सन्तबहादुर श्रेष्ठले बताए।