Redirecting...

रक्सीको तालमा स्कुल बस चलाउने पाँच चालक पक्राउ - bishwokhabar.com

रक्सीको तालमा स्कुल बस चलाउने पाँच चालक पक्राउ - bishwokhabar.com
Source: bsbk

काठमाडौं- स्कुल बसका चालकहरूले नै मदिरा सेवन गरेर सवारी चलाउने गरेको पाइएपछि कास्की प्रहरीले आइतबार बिहान ५ जना चालकलाई नियन्त्रणमा लिएको छ। पोखराका विभिन्न स्थानमा चल्ने स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिहान ९:३० बजे आकस्मिक चेकजाँच गरेको थियो। सो क्रममा विद्यार्थी बोकेर हिँडेका ५ वटा बसका चालकले मापसे गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। चेकिङका क्रममा पोखराका प्रतिष्ठित मानिने विद्यालयका बस चालकहरू नै पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका ३३ वर्षीय चालक आनन्द परियार, कुमुदिनी होम्सका ३७ वर्षीय चालक गौतम गुरुङ र विन्देश्वरी स्कुलका ४४ वर्षीय चालक भक्तबहादुर गुरुङ रहेका छन्। त्यस्तै, अन्जली बोर्डिङ स्कुलका ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलका ४७ वर्षीय पदम वि.क. पनि मापसे गरेको अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्यार्थी बोक्ने सवारीमा चालकले चरम लापरवाही गरेको पाइएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबै चालकलाई कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।