शिवरात्रिमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन - www.pardafas.com
आइतबार परेको शिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्वलाई लक्षित गरी छिमेकी मुलुक भारतसहित देशका विभिन्न स्थानबाट साधु–सन्त र नागा बाबाको आगमन भइसकेको छ । भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शनार्थीको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष यातायात व्यवस्थापन योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दर्शनार्थीको चाप नबढुन्जेलसम्म चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन निर्वाध रूपमा सञ्चालन हुनेछन् । तर, गौशाला क्षेत्रमा मानिसको भीड अत्याधिक भई सवारी आवागमनमा अवरोध हुने अवस्था आएमा वैकल्पिक मार्गको प्रयोग गरिनेछ । विशेषगरी तिनकुनेबाट सिनामङ्गलतर्फ आउने, बौद्धबाट गौरीघाटतर्फ आउने तथा पुरानो बानेश्वर र मित्रपार्कबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, भिडको अवस्था हेरी चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर र मैतिदेवी मोडबाट गौशालातर्फ आउने सवारीलाई वैकल्पिक रुटमा मोडिने (डाइभर्सन गरिने) योजना छ । पार्किङका लागि तोकिए ६ स्थान १. सिफल चौर: दर्शनार्थी, पासवाहक र सुरक्षाकर्मीका सवारी साधनका लागि ।२. गुहेश्वरी पारि: तीर्थयात्री र दर्शनार्थीका सवारीका लागि ।३. तिलगंगा आँखा अस्पताल र करिडोर: दर्शनार्थी, पर्यटक र तीर्थयात्रीका सवारीका लागि ।४. पशुपति विकास कोष कार्यालय (भण्डारखाल): सवारी पासवाहक गाडीहरूका लागि ।५. वनकाली क्षेत्र: शिविर सञ्चालन गर्ने संस्था, दमकल, एम्बुलेन्स र खानेपानीका साधनका लागि ।६. प्रहरी वृत्त गौशाला परिसर: सरकारी र पासवाहक सवारी साधनका लागि । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले महाशिवरात्रिका दिन पशुपति क्षेत्र भएर यात्रा गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।