Redirecting...

‘साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन’ - ehimalayatimes.com

‘साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन’ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २२औं स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र गैरआवासीय नेपाली संघ, भाषा साहित्य समितिको संयुक्त आयोजनामा ‘साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । समारोहमा विभिन्न भूगोल र भाषाभाषी प्रतिनिधित्व गर्ने ५९ जना कविहरूले आफ्ना मौलिक कविता वाचन गरेका थिए । बहुभाषिक सिर्जनाले नेपाली साहित्यको विविधता र सांस्कृतिक धरोहरलाई उजागर गरेको आयोजक संस्थाहरूले बताएका छन् । प्रमुख अतिथि तथा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा रहेका सबै भाषाको प्रतिनिधित्व हुनेगरी गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार झल्काएको बताउनुभयो । साथै, संसारभरि छरिएर रहेका नेपालीहरू आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण र विस्तारमा सक्रिय रहेको उहाँको भनाइ थियो । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली समुदाय, विशेषतः नयाँ पुस्तालाई आ-आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘भाषा र संस्कृति जोगिएन भने हाम्रो इतिहास, सभ्यता र मौलिकता गुम्नेछ’, उहाँले भन्नुभयो । कार्यक्रममा डा.गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मी थापा, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितानलगायतले विविध भाषामा कविता प्रस्तुत गर्नुभएको थियो ।