राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ - www.technologykhabar.com
नेपाल ‘जेनजी फ्रन्ट’ले राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ। मतदाता नामावली सङ्कलनमा देखिएको सीमितताले बालिग मतदातामा उत्साह नदेखिएको जनाउँदै फ्रन्टले आगामी निर्वाचनमा नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको हो। “राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न सम्बद्ध सबैमा अपिल गर्दछौँ”, फ्रन्टका संयोजक रक्षा बमद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ। मतदाता नामावलीमा नाम दर्ताका लागि बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह नथपेको संयोजक बमको भनाइ छ। निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सकिने जनाएको छ। अहिलेसम्म जम्मा एक लाख ३६ हजार मात्र नयाँ मतदाताले नामावली दर्ता गरेका छन्। रासस The post राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ appeared first on Technology Khabar.