एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै - arthasanjal.com
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजबाट प्लेअफ चरण सुरु हुँदैछ। आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर खेल भोलि (बुधबार) दिउँसो ४ बजे काठमान्डु र लुम्बिनीबीच हुनेछ। पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा स्थान बनाउने मौका पाउनेछ। दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ। लिग प्रदर्शन ब्याटिङतर्फ पोखरा एभेन्जर्सका एडम रोसिङ्टन ३२३ रनसहित शीर्षमा छन्। कर्णाली याक्सका मार्क वाट २४६ रनसहित दोस्रो र चितवन राइनोजका रवि बोपारा २३७ रनसहित तेस्रो स्थानमा छन्। नेपाली खेलाडीमध्ये लुम्बिनीका कप्तान रोहित पौडेल २०८ रनसहित अग्रस्थानमा छन्। बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेटसहित शीर्षमा छन्। सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो र काठमान्डुका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन्। सुदूरपश्चिमले लिग चरणमा केवल एक खेलमा हार बेहो–र्यो। विराटनगरले २२० रन बनाउँदै नयाँ कीर्तिमान बनाएको छ। काठमान्डुले ५ खेल जितेको छ। उतार–चढावबीच लुम्बिनी, कर्णाली र चितवनले मिश्रित प्रदर्शन गरे। अघिल्लो संस्करणको विजेता जनकपुर एक मात्र जीतसहित पुछारमा रह्यो। यो संस्करणमा धेरै विदेशी खेलाडी अनुबन्ध भएपछि प्रतियोगितामा रौनक वृद्धि भएको देखिन्छ। प्लेअफका बाँकी सबै खेल फ्लडलाइटमा हुनेछन्।