प्रचण्डले बोलाएको दलहरूको बैठकमा के भयो कुराकानी? - www.nepalclicks.com
काठमाडौँ- कुलिङ पिरियडमा चलखेलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार भएपनि राजीनामा नदिएपछि विपक्षी दलहरू एकजुट भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलको बैठक उक्त विषयमा कुराकानी भएको हो। बैठकमा सहभागी रास्वपा नेता गणेश पराजुलीका अनुसार सभापति खतिवडाले चलाउने बैठकमा प्रतिपक्षी दलहरू एकैठाउँमा उभिने कुरा चलेको जिकिर गरे। ‘छानबिन समितिको निष्कर्षपछि कानुन त हस्ताक्षरकर्ता दोषी हुने भनेको छ। हस्ताक्षर गर्ने सभापतिले राजीनामा दिइराख्नुभएको छैन,’ उनले भने, ‘उहाँ मात्रै होइन राजनीतिक नेतृत्वलाई पनि जिम्मेवारी बनाउनुपर्छ कि पर्दैन भन्ने कुरा दलले निर्णय गर्नुपर्ने पनि हुन्छ। त्यसैले उहाँले चलाउने समितिको बैठकमा प्रतिपक्ष एकैठाउँमा उभिने चर्चा चलेको छ।’ छानबिन समितिले दाषी भनेर आफ्नो नाम किटान नगरेकाले आफूले राजीनामा नदिने खतिवडाले अडान लिइरहेका छन्। बैठकले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’को प्रतिवाद गर्ने पनि निष्कर्ष निकालेको छ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई ठूला पार्टी मात्रै रहने ल्याउन खोजिएको बताए। सत्तारुढ दल कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको बताए। ‘निर्वाचन आयोगले संविधानविपरीत काम गर्दैछ, हामी लिखित रूपमा संयुक्त रूपमा प्रतिवाद गर्छौँ,’ उनले भने, ‘दुई ठूला दलबाहेक अरू सबै निर्वाचन आयोगका कदमका विरुद्ध एकैठाउँमा आएका हौँ।’ निर्वाचन आयोगको कदम कानून र न्यायसम्वत नभएको भन्दै विपक्षी दलहरू एकैठाउँमा आएको रास्वपाका नेता गणेश पराजुलीले बताए।