Redirecting...

बझाङमा खेल मैदान निर्माणमा १४ लाखभन्दा बढी भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर - taksarnews.com

बझाङमा खेल मैदान निर्माणमा १४ लाखभन्दा बढी भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर - taksarnews.com
Source: tsar

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा निर्माण गरिएको खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माण तथा सुधारका क्रममा ठेकेदार, उपभोक्ता समिति र गाउँपालिकाका जिम्मेवार पदाधिकारीबीच मिलेमतो गरी कमसल निर्माण सामग्री प्रयोग गरिएको, प्राविधिक रूपमा आवश्यक डिपिआर नगरी काम गरिएको र काम पूरा नगरी रकम हिनामिना गरिएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र संघीय सांसद विकास कोषबाट १५ लाख गरी कुल ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको देखिएको छ। तर एउटै कामका लागि एउटै उपभोक्ता समितिसँग फरक–फरक लागत अनुमान कायम गरी दुईवटा सम्झौता गरिएको, सांसद विकास कोषतर्फको १५ लाख रुपैयाँका लागि छुट्टै नयाँ लागत अनुमान नै नबनाइएको आयोगको निष्कर्ष छ। गोश्वारा भौचर र नापी किताबको विश्लेषण गर्दा एउटै ग्राउण्ड कटिङ्ग कार्यको परिमाणलाई दुई फरक मितिका भौचरमार्फत दोहोरो देखाई १३ लाख ९९ हजार १८६ रुपैयाँ दोहोरो भुक्तानी गरिएको पाइएको छ। साथै नभएको वा नगरेको कामलाई भएको देखाई ६७ हजार ३१७ रुपैयाँ ९२ पैसा बढी भुक्तानी गरिएको पनि आयोगले जनाएको छ। यसरी कुल १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसा गैरकानूनी रूपमा भुक्तानी लिएको र दिएको ठहर गर्दै आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब–इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी तथा बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम दोषी ठहर गरी बिगो बराबरको जरिवाना, कैद तथा बिगो असुल उपर गर्न मागदाबी लिएको छ। साथै मतियारको भूमिकामा संलग्नहरूमाथि सोही ऐनको दफा २२ बमोजिम सजाय हुनुपर्ने माग पनि गरिएको छ।