सरकारको अर्जुनदृष्टि निर्वाचनमै छ, पत्रकारिताको ‘रस’ रगतमै गढेको छ: सञ्चारमन्त्री - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा मंगलबार कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले सरकार निर्वाचन गराउन अर्जुनदृष्टि लगाएर अघि बढेको स्पष्ट पारे।‘नियमित काम बाहेक सरकारको ध्यान चुनावमा केन्द्रित छ,’ मन्त्री खरेलले भने, ‘निर्वाचनका लागि सबै दललाई सहमतिमा ल्याएर सरकारले चुनावी कार्यक्रम जारी राखेको छ। हिजो असंवैधानिक सरकारले गराएको चुनावमा भाग लिन्नौँ भन्ने दलहरू पनि अहिले चुनाव लक्षित गतिविधिमा केन्द्रित भइसकेका छन्।’२५ वर्ष लामो पत्रकारिता जीवनबाट सिधै मन्त्रीको जिम्मेवारीमा पुगेका खरेलले आफूमा सरकारको भन्दा पत्रकारिताको ‘रस’ बढी रहेको अनुभव सुनाए।‘सरकारको रस बसिसकेको छैन, तर पत्रकारिताको रस रगतमै गढेको छ,’ उनले भने, ‘हिजो प्रश्न सोध्ने ठाउँमा थिएँ, आज जवाफ दिने ठाउँमा छु। दुवै क्षेत्र उत्तिकै जिम्मेवार र संवेदनशील छन्।’उनले आफू मन्त्री बन्ने कुनै पूर्वयोजना नभएको र न्युजरुमको ‘एडिटर इन चिफ’ को कुर्सीबाट आकस्मिक रूपमा मन्त्रीको कुर्सीमा आइपुगेको स्मरण गरे।मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा ३० वटा महत्त्वपूर्ण काम गरेको मन्त्री खरेलले दाबी गरे। आफ्नो कार्यकालमा जनयुद्धकालदेखिका पुराना समस्या समाधानदेखि प्रविधि विस्तारसम्मका काम भएको उनको भनाइ छ।उनले भने, ‘पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नु मेरो लागि आत्मसन्तुष्टिको विषय बन्यो। उहाँको परिवारलाई रोजगारीको व्यवस्थापन गरेका छौँ।’यस्तै, मन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका इन्टरनेटको पहुँच नै नभएका ८ वटा पालिकामध्ये आफ्नो कार्यकालमा ४ वटा पालिकामा फोरजी सेवा विस्तार गरिएको जानकारी दिए।पत्रकारको सामाजिक सुरक्षा, सेक्युरिटी प्रिन्टिङ प्रेसको लाइसेन्स र टेलिकमको टावर विस्तारमा पनि उल्लेख्य काम भएको उनले बताए।