माधव-झलनाथले साँच्चिकै टाउको जुधाउँछन् कि जस्तो लाग्या छ: रावल - nagariknews.nagariknetwork.com
नेकपा एमालेका पूर्व नेता डा. भीम रावलले एकीकृत समाजवादीभित्र चर्किएको माधवकुमार नेपाल र झलनाथ खनालबीचको विवादलाई ‘गोरु जुधाइ’ को संज्ञा दिँदै उनीहरू वास्तविक लडाइँको तयारीमा रहेको टिप्पणी गरेका छन्।साथै, उनले वर्तमान सरकारले भूमिसम्बन्धी ऐन संशोधन गरेर राजा महेन्द्रले गरेकोभन्दा पनि प्रतिगामी कदम चाल्न खोजेको गम्भीर आरोप लगाए।शनिबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले एकीकृत समाजवादीको आन्तरिक कलहलाई लक्षित गर्दै भने, ‘उहाँहरूको विवाद हेर्दा मलाई दुईवटा गोरु जुध्नुअघि खुट्टाले माटो खोस्रे जस्तो देख्छु। अब साँच्चिकै टाउको जुधाउनुहुन्छ कि जस्तो लाग्यो।’उनले यसलाई स्थानीय भाषामा ‘गडाैँकी हान्ने’ तयारीको रूपमा व्यंग्य गरे।डा. रावलले एकीकृत समाजवादीको विवादभन्दा पनि सरकारले भूमिसम्बन्धी ऐनमा गर्न लागेको संशोधनप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले हदबन्दीभन्दा बढी जग्गा उद्योगका नाममा राख्न पाउने तर उद्योग नचलेमा उक्त जग्गा स्वतः सरकारको हुने राजा महेन्द्रकालीन व्यवस्थालाई उल्टाउन खोजिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।‘राजा महेन्द्रले २०२१ सालमा भूमिसुधार लागू गर्दा उद्योगको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न दिने तर उद्योग नचलेमा त्यो जग्गा सरकारको हुने कानुन बनाएका थिए। जसलाई कम्युनिस्टहरूले ‘सामन्ती’ भने,’ रावलले भने, ‘अहिले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारले भूमिसुधारलाई नै मान्दैन ? यो प्रावधान किन परिवर्तन गर्न खोजिँदैछ ?’उहाँले यो संशोधनले जमिनदारहरूलाई हजारौं बिघा जग्गा कब्जा गर्न बाटो खोल्ने र यो समाजवादको मर्मविपरीत भएको बताए। ‘यो कहाँको समाजवाद हो ? यसमा पक्कै पनि राम्रो आशय छैन,’ रावलले भने, ‘गिरिबन्दु टी-स्टेट, नुवाकोट दरबार र बालुवाटारको जग्गा प्रकरणजस्तै सार्वजनिक जग्गा हडप्ने दुराशय यसको पछाडि छ।’