Redirecting...

खालिद जमिल भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त - ehimalayatimes.com

खालिद जमिल भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त - ehimalayatimes.com
Source: hmlt

नयाँदिल्ली । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । उहाँले स्पेनी प्रशिक्षक मानोलो मार्केजको स्थान लिनुभएको हो । एआईएफएफले सामाजिक सञ्जालमार्फत जमिलको नियुक्तिको जानकारी दिँदै जनाएको छ, ‘भारतीय पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा खालिद जमिललाई नियुक्त गर्ने निर्णय भएको छ ।’ अन्तिम तीनजनाको सूचीमा जमिलसँगै भारतका पूर्वप्रशिक्षक स्टेफन कन्स्टेन्टाइन र स्लोभाकियाका स्टेफन टार्कोभिकको नाम पनि परेको थियो । राष्ट्रिय टोली निर्देशक सुब्रत पालसँगको परामर्शपछि एआईएफएफको प्राविधिक समितिले जमिललाई छनोट गरेको हो । पूर्वमिडफिल्डर जमिलले आफ्नो प्रशिक्षण यात्राको सुरुवात सन् २००९ मा गर्नुभएको थियो । पछिल्लो समय उहाँ इण्डियन सुपर लिग (आइएसएल) क्लब जम्सेदपुर एफसीको प्रशिक्षक हुनुहुन्थ्यो । सन् २०२३ देखि जम्सेदपुरको जिम्मेवारी सम्हालिरहनुभएका जमिलको कार्यकालमा क्लबले ४८ खेलमा २४ जित, ६ बराबरी र १८ हारको नतिजा निकालेको थियो । यसअघि उहाँले मुम्बई एफसी, अइजोल एफसी, इष्ट बंगाल, मोहन बगान, नर्थइष्ट युनाइटेड र बेङ्लुरू युनाइटेड जस्ता क्लबको प्रशिक्षणसमेत सम्हालिसक्नुभएको छ । एजेन्सी