झलनाथलाई माधव नेपालले भने- ओलीजीको सेवा गरेर बसे हुन्छ - www.pardafas.com
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नेकुरा गर्न पार्टीको अनुशासन विपरित रहेको तर्क गरे । उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए । ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि’ उनले भने । पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ । संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ । ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ । विरुद्धमा होइन’ उनले भने । अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबी समेत गरे ।