शतक र अर्धशतक दुवैमा विदेशीको एकलौटी, छायाँमा नेपाली ब्याटर - ehimalayatimes.com
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लिग चरणमा ३५ अर्धशतक प्रहार भएका छन् । आइतबार लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले कर्णाली याक्सविरुद्ध ५० रन पूरा गरेसँगै अर्धशतकको संख्या ३५ पुगेको हो । उहाँले कर्णालीविरुद्ध ३७ बलमा १ चौका र ४ छक्का प्रहार गर्नुभयो । यस सिजन २९ खेलाडीले ३५ अर्धशतक प्रहार गरे । जसमध्ये सातजनामात्र नेपाली छन् । जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङ्टनले र कर्णाली याक्सका प्रियांन्क पन्चालले दुई/दुई अर्धशतक बनाउनुभयो । यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, इशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसी धवन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौं गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक बनाउनुभयो । कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङ्टनले मात्रै जारी प्रतियोगितामा हालसम्म शतक प्रहार गर्नुभएको छ । विकेटमा नेपाली बलरको दबदबाटी-२० क्रिकेटमा ब्याटरको दबदबा बढी हुन्छ । बलर प्रायः जहिले पनि दबाबमा हुन्छन् । तर, त्रिवि रंगशालामा त्यो देखिएन । एनपिएल सिजन-२ मा तुलनात्मकरूपमा ब्याटरभन्दा नेपाली बलर बढी सफल भएको देखिन्छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने जारी सिजनमा सानदार लयमा हुनुहुन्छ । लिग चरणका खेल सम्पन्न हुँदासम्म उहाँ सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा हुनुहुन्छ । सन्दीपले सात खेलमा ५.१० को सानदार इकोनोमीमा १५ विकेट लिनुभएको छ । यो सूचीको दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका फास्ट बलर अविनाश बोहराको नाम आउँछ । जारी संस्करणमा लिग चरणको समाप्तिमा सुदूरपश्चिमलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याउन बोहराको महत्वपूर्ण योगदान छ । बोहराले जारी लिगमा सात खेल खेल्दै १४ विकेट लिनुभएको छ । जसमा उहाँको इकोनोमी रेट ७.८१ को छ ।काठमाडौं गोर्खाजमा आबद्ध स्पिनर शाहब आलम उत्कृष्ट लयमा हुनुहुन्छ । आलम एनपिएलमा ह्याट्रिक पहिलो बलरसमेत बन्नुभयो । लिगमा उहाँले हालसम्म सात खेलमा १२ विकेट लिनुभएको छ । त्यस्तै, काठमाडौं गोर्खाजकै करण केसीले पनि १२ विकेट लिनुभएको छ । सूचीको चौथो स्थानमा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, लुम्बिनी लायन्सका शेर मल्ल, काठमाडौं गोर्खाजका मिलिन्द कुमार, पोखरा एभेन्जर्सका धनञ्जय लक्ष्मण र कर्णाली याक्सका नन्दन यादवको नाम आउँछ । यी पाँचैजना खेलाडीले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै समान १० विकेट लिएका छन् । सुदूरपश्चिमका दुई अष्ट्रेलियन खेलाडी स्वदेश फर्किएसुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी स्वदेश फर्किएका छन् । एनपिएलमा टप अर्डरमा ब्याटिङ गरिरहेका क्रिस लिन र जोश ब्राउन अष्ट्रेलिया फर्किनुभएको हो । लिनले ६ इनिङ्समा एक अर्धशतकसहित १४३ रन बनाउनुभएको छ । ब्राउनले पनि एक अर्धशतकसहित १०१ रनको योगदान दिनुभयो । रोयल्सको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्नेक्रममा क्रिस लिन घाइते हुनुभएको थियो । उहाँले विराटनगरविरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सक्नुभएन । चोटकै कारण उहाँ प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ । जोस ब्राउन भने बिग ब्यासका लागि जानुभएको हो । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्नेसुदूरपश्चिम रोयल्सबाहेक यसपालि तीन नयाँ टोलीले पहिलोपटक प्लेअफमा स्थान बनाएका हुन्, जसमा विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स छन् । पहिलो संस्करणमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफमा स्थान बनाएका थिए । तर, यसपालि भने जनकपुर, चितवन र कर्णालीले निराशाजनक प्रदर्शन गरे । त्यस्तै, पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको पोखराले यसपालि प्लेअफमा स्थान बनाउन सकेन । एनपिएल सिजन-२ को प्लेअफमा पुग्ने चार टोलीमध्ये सुदूरपश्चिम पहिलो, विराटनगर, काठमाडौं र लुम्बिनी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै टप-४ मा पुगेका हुन् । सोहीअनुसार अंक तालिकाको पहिलो र दोस्रो स्थान हासिल गरेका सुदूरपश्चिम र विराटनगरले आज (मंगलबार) हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । उक्त खेलमा विजय हासिल गर्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजय बेहोर्ने टोली एलिमिनेटर जित्ने टोलीसँग मंसिर २५ गते क्वालिफायर-२ मा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र लुम्बिनीबीचको एलिमिनेटर खेल भने २४ गते हुनेछ । एनपिएल सिजन-२ को फाइनल खेल भने मंसिर २७ गते शनिबार हुनेछ ।