नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ : प्रधानमन्त्री कार्की - www.pardafas.com
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत आउने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूले गरेको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति निर्माण भएको स्मरण गर्दै उनले अहिलेको सरकारको मुख्य एजेन्डा नै सुशासन र निर्वाचन रहेको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने ‘अर्जुनदृष्टि’ सहित सरकार अहोरात्र खटेको र तयारीका काम धेरै अगाडि बढिसकेको जानकारी दिइन् । उनले भनिन्, ‘हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’ मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन नै एक मात्र विकल्प रहेको उनले जिकिर गरिन् । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसँग सहयोगको आग्रह समेत गरिन् । समाजमा बढ्दो अराजकताबारे सचेत गराउँदै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने र कानून हातमा लिने जस्ता गतिविधि सरकारलाई स्वीकार्य नहुने चेतावनी दिइन् । उनले भनिन्, ‘म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ ।’ उनले खराब तत्वको प्रतिरोध गर्न समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै हातेमालो गर्न सबैलाई आह्वान गरिन् ।