Redirecting...

हेटौँडामा ‘बखान’ कृतिमाथि बहस - sahityapost.com

हेटौँडामा ‘बखान’ कृतिमाथि बहस - sahityapost.com
Source: shpt

हेटौँडा । साहित्यकार तथा पत्रकार वसन्त पराजुलीद्वारा लिखित तेस्रो कृति ‘बखान’ माथि हेटौँडामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, मकवानपुरले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रम ऐतिहासिक उपन्यास ‘बखान’ का विषयवस्तु, संरचना र सौन्दर्य पक्षहरूमा केन्द्रित थियो । कार्यक्रममा अग्रज साहित्यकार तथा पत्रकार डा. निमेष निखिलले कृतिको समीक्षा गर्दै लेखक पराजुलीले सरल, वर्णनात्मक र विवरणात्मक शैलीमार्फत ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनकथा जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयाे । उहाँका अनुसार लेखकले पात्र र सन्दर्भको भित्री तहसम्म पुगेर अनुसन्धान–आधारित लेखन गर्ने क्षमता प्रदर्शन गर्नुभएकाे छ । निखिलले उपन्यासमा उल्लेखित २००७ सालको जनक्रान्ति, राजा महेन्द्रको २०१७ सालको कु, त्यसपछिका राजनीतिक आन्दोलन, चितवनमा बस्ती बसोबासको प्रारम्भिक इतिहास तथा नेपालकै पहिलो सहकारी संस्था — बखान ऋण सहकारी स्थापनासँग सम्बन्धित घटनाहरू तथ्यपूर्ण रूपमा समेटिएको उल्लेख गर्नुभयाे । बखानसिं गुरुङ शाही सैनिक क्याप्टेनबाट क्रान्तिकारी बनेका, संघर्षका कठोर क्षण व्यतित गरेका र क्रान्तिकै क्रममा आफ्ना दुई छोरासमेत गुमाएका जनक्रान्तिका अग्रज पात्र हुन् । त्यस्तै उहाँले चित्रसेन बाबाको मन्दिर, सोमेश्वर गढी, उपरदाङ गढी, देवघाट, र चितवन राष्ट्रिय निकुञ्जमा राजपरिवार र विदेशीले गरेका नारायण–सिकारका नृशंस घटनाहरू समेत उपन्यासमा अनुसन्धानात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयाे । यद्यपि, वर्णनात्मकता बढी हुँदा कतिपय ठाउँमा साहित्यिक मिठास अलि कम महसुस हुने उहाँको टिप्पणी थियो । कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उपन्यासमार्फत लेखकले चितवन र त्यहाँका ऐतिहासिक सन्दर्भहरूलाई राष्ट्रिय पहिचान दिलाउने काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयाे । उहाँका अनुसार सहकारी, इतिहास, राजनीति र चितवनको विकासयात्रामा रुचि राख्ने सबैका लागि ‘बखान’ पढनीय कृति हो । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, मकवानपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा, महासंघका पूर्व अध्यक्ष राममणि दाहाललगायत साहित्यकार, पत्रकार र अग्रज व्यक्तित्वहरूको उपस्थिति थियो । The post हेटौँडामा ‘बखान’ कृतिमाथि बहस appeared first on साहित्यपोस्ट.