Redirecting...

एउटा भेटको अपेक्षा (निबन्ध/नवपुस्ता) - sahityapost.com

एउटा भेटको अपेक्षा (निबन्ध/नवपुस्ता) - sahityapost.com
Source: shpt

यो जिन्दगी खाली पाना जस्तै छ । म केही अक्षरहरू भर्न लागिरहेछु । बेला बेलामा समाज, इरेजर बनेर आउँछ । म भित्रका महरूले मलाई मेट्न इजाजत दिन्छन् । मैले मभित्र कतिपटक हिम्मत र आत्माविश्वास ल्याएँ तर समाजले पुछिदियो र लेखिदियो डर । आज म त्यही डर लिएर बाँचिरहेछु । यद्यपि मेरो समाजले मलाई डराउन सिकाएर भन्छ डराउनु हुँदैन, डरलाई जित्नु पर्छ, तर कसरी जित्न सकिन्छ, त्यो चाहिँ सिकाउँदैन । मेरो विचारमा, पौडिनुपर्छ भन्नेले पौडिन सिकाउनु पनि पर्छ । कसैले पौडिनुपर्छ भन्दैमा खोलामा पस्यौँ भने डुबिन्छ । यसको मतलब पौडिनुपर्छ भन्नु गलत चाहिँ होइन । सपना देखाउनु राम्रो कुरा हो तर कस्तो सपना देखाउने कसरी देखाउने र कसलाई देखाउने त्यो अझ महत्वपूर्ण कुरा हो । समय परिस्थितिसँगै यो मन, बुद्धि र चेतनामा पनि परिवर्तन आउने रहेछ । जस्तोसुकै परिस्थितिमा पनि मनस्थितिलाई यथास्थितिमा राख्न सफल नभइने रहेछ । उमेर अवस्थासँगै सोच्ने तरिका र आउने विचारमा पनि एकाकार नहुने तथा आफूले आफैँलाई बुझ्दै जाँदा जति गहिराइमा गयो त्यति शून्यता बोध हुने रहेछ । आफ्ना सिकाइ र भोगाइ थोपा बराबर, अनि सिक्नुपर्ने र भोग्नुपर्ने कुरा त सागर सरह अथाह रहेछ । मैले बल्ल महसुस गर्दै छु । सानो छँदा दाजुदिदीहरूकै उमेर रमाइलो हुन्छ जस्तो लाग्थ्यो, न त गृहकार्य गर्नुपर्ने, न त दिनभरि स्कुल नै जानुपर्ने, आफैँले कमायो, रमायो । आज त्यही उमेरमा उभिएर हेर्दा बाल्यकाल नै रमाइलो लाग्न थालेको छ । मागे पाइयो, नपाए रोइदिए, कराइदिए पुग्यो, कति आनन्द । जब मनमा अनेक कुरा खेल्न थाल्छन् तब चिन्तनपनि चिन्तामा परिणत हुन थाल्छ र चिन्ताले चितासम्म पुर्याउँछ तर यो थाहा हुँदाहुँदै पनि मनमा चिन्ताको बीजारोपण भइरहन्छ । कैले के को चिन्ता त कैले के को । परिवारप्रतिको जिम्मेवारीले थिचिँदा थिचिँदा एक पिताले आफैँलाई नै बिर्सिंदा रहेछन् । आमालाई जस र बालाई ढाडस दिने भनेर हिँडेको सन्तानलाई समयले अवाक् बनाउने रहेछ । परन्तु आज जीवनसाथीका विषयमा अलिकति चिन्ता, कौतुहलता, उत्सुकता र जिज्ञासा पलाएको छ । विवाह र जीवनसँगिनीको विषयमा धेरैका धेरै थरी अवधारणा रहेका छन् । कसैले वरदान त कसैले अभिशाप भनेर व्याख्या विश्लेषण गरेकाछन् । ॐ शान्तिले ब्रह्मकुमार र ब्रह्मकुमारी हुनुपर्ने बताउँछ तर विवाहलाई सोझै इन्कार गरेको भने देखिँदैन । वैदिक सनातनले पनि विवाहलाई पवित्र बन्धन बताएको छ । “यथा वायुं समाश्रित्य वर्तते सर्वजन्तव: तथा गृहस्थमाश्रित्य वर्तते सर्व आश्रमाः।”- मनुस्मृति अर्थात् जसरी प्राणी, मात्र वायुको आश्रय लिएर जीवित रहन्छन् त्यसरी नै सबै आश्रमका मानिस गृहस्थाश्रममा आश्रय पाएर जीवन यापन गर्छन् । मेरो विचारमा विवाह बन्धन होइन, यदि बन्धन भएपनि पवित्र बन्धन हो, सात जुनीसम्मको बन्धन, कहिल्यै नटुट्ने र कहिल्यै नछुट्ने बन्धन । यो बन्धनमा को सँग बाँधिने ? त्यो चाहिँ खोजिको विषय हो । विडम्बना, जोसँग सात जुनी सँगै बिताउनुपर्ने हो, बाँधिनु पर्ने हो, जीवनको पहिलो चतुर्थांश बित्दा पनि ऊसँग साक्षात्कार भएको छैन । मध्यम वर्गीय परिवार । घरको एक्लो छोरा । त्यो माथि उपाध्याय बाहुन । न सरकारी जागीर । न अमेरिका अस्ट्रेलिया । न बुटवल काठमाडौंमा घर घडेरी । अनि मागि विवाह । सायद मुस्किल नै हुन्छ होला । प्रेम विवाहका लागि म अनुपयुक्त पात्र चाहिँ होइन तर विविध परिधिका कारण ठ्याक्कै मेल खाने पाउन सक्नु नसक्नु त्यो भाग्यको कुरा हो । सबै भाग्यलाई जिम्मा लगाएर कर्म नगर्ने मेरो स्वभाव चाहिँ छैन । सपना र योजना तमाम छन् । आर्थिक र सामाजिक पक्ष मात्रै नभएर शैक्षिक र बौद्धिक सबलता हासिल गर्नु छ । हुन त विवाह गर्ने उमेर भएको छैन तर अग्रज दाजुहरूले बिस वर्षदेखि पच्चीस वर्षसम्मको उमेर त आँखा झिमिक्क माल गायब जस्तै हो भनेको सुन्दा शरीरमा काँडा नै उम्रिन्छ । जे होस् हकान्निएको छैन हकानिन्न पनि । आफ्नो लक्ष्यमा केन्द्रित थिएँ, छु, रहिरहन्छु । सबै चम्किने वस्तु हिरा हुँदैन, नटुक्रिएसम्म ढुङ्गा पनि त मुर्ति बन्दैन । मेरो विचारमा जित्नुभन्दा ठूलो कुरा हार नमान्नु हो । समय पक्कै आउँछ । समयलाई समयमै चिन्नुपर्छ, चिन्ने छु । समयले समयलाई चिनाउँदा समय निकै अघि पुग्ने छ त्यो हुन मैले कदापि दिने छैन । अन्तत: जीवन साथी तिमी जस्ती छौ, जहाँ जुन अवस्थामा छौ जस्तो यात्रा गरिरहेकी छौ यात्रालाई बिट नमार हामी यात्राकै क्रममा भेटिने छौँ । हाम्रो यात्रा रोकिने छैन । यौटा साझा यात्रा हुनेछ जुन यात्रामा हामी एकअर्कामा पूर्ण समर्पित हुनेछौँ, के थाहा सात जुनीमध्ये यो अन्तिम जुनी पो हो कि ? The post एउटा भेटको अपेक्षा (निबन्ध/नवपुस्ता) appeared first on साहित्यपोस्ट.