राष्ट्रपति भन्छन्: अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ - nagariknews.nagariknetwork.com
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताए । भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपतिले युवा पुस्ताको चाहना पनि यही नै भएको बताएका छन् । मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्बाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिनु आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको उनको भनाइ छ। राष्ट्रपति पौडेलले जनतालाई सार्वभौम बनाउन र उनीहका हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न प्रजातन्त्र सेनानीले लोकतन्त्र स्थापना र पुनः स्थापनाका सङ्घर्षमा अविश्राम समर्पित भएको गर्विलो इतिहासको जगमा आज मुलुक उभिएको बताएका छन् ।