Redirecting...

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान - kendrabindu.com

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान - kendrabindu.com
Source: kend

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो । ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले अभिभावकलाई बालबालिकाको पठनपाठनमा प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ । “सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन हामीले विशेष जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, विद्यालय छाड्नुका कारण पत्ता लगाउने र तत्काल समाधान गर्ने प्रक्रियालाई निरन्तर सञ्चालन गरिरहेका छौँ ।” यो अभियानमार्फत विद्यालय बाहिर रहेका १० जना विद्यार्थी पुनः भर्ना गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयलाई छाड्ने दर शून्य बनाउन गाउँपालिकाले सचेतनासँगै खोजी अभियान सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार हाल गाउँपालिकामा रहेका ३२वटै सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । “विद्यालय सुधार, सिकाइको गुणस्तर वृद्धि र बालमैत्री वातावरण निर्माणमा हामी निरन्तर केन्द्रित छौँ”, भट्टराईले बताए । शैक्षिक सुधारसँगै गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन भइरहेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई सम्मान तथा आर्थिक प्रोत्साहन प्रदान गरिँदै आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । यो गाउँपालिकालाई २०८१ सालमा बालश्रममुक्त स्थानीय तहसमेत घोषणा गरिएको छ । बालमैत्री स्थानीय तह निर्माण गर्न बालश्रमुक्त स्थानीय तह पहिलो शर्त रहेकाले गाउँपालिकाले अहिले यसमा जोड दिएको गाउँपालिकाका रोजगार संयोजक तथा बालश्रमसम्बन्धी विषयका स्रोतव्यक्ति टेकराज खड्काले बताए । गाउँपालिकाले बाल उद्धार कोष निर्माण गरेर आवश्यक कदम अघि बढाएको छ । स्थानीयवासीले गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले विद्यालय फर्कने विद्यार्थीको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन् ।